झापामा हात्ती आक्रमणबाट एक वर्षमा ६ जनाको मृत्यु

ताजा समाचार स्थानिय हाम्रो झापा


झापा । झापाको मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते भइन्।
विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उनको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ। ‘पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्‍यो’, घाइते भीममायाका पति डिल्ली राईले भने,’साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो।’
जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ। सर्प र चट्याङको डर त छँदैछ। दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन्।
साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरू अनिँदै बस्नुपर्ने अवस्था छ। असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर ९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टङ्कप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट गर्‍यो।
‘हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल दिउँसै दुःख दिन थालेपछि थप समस्या भएको छ’, श्रेष्ठले भने, ’मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो। गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् । ’डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा हात्तीको आक्रमणबाट छजनाको मृत्यु भएको र १३ जना घाइते भएका बताए। सोही अवधिमा चारवटा हात्तीसमेत मरेका उनले जानकारी दिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *