झापा ।कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशलाई अधिकार दिन तयार नभएको बताएका छन् ।
प्रदेशको एकल अधिकारमा पनि संघीय सरकारले अंकुश लगाएको उनको गुनासो छ । आइतबार प्रदेश तहमा निर्मित कानुनको अध्ययन तथा समीक्षा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशलाई अधिकार नदिने मनसाय संघीय सरकारमा देखिएको बताएका हुन् ।
‘एकल अधिकार दिनसमेत संघीय सरकार विभिन्न अंकुश लगाएर बसेको छ’, उनले भने, ‘अधिकार दिनु हुँदैन भन्ने मनसाय देखिन्छ ।’ संघले मुख्यमन्त्रीहरुको भेला समेत गर्न रोक लागाएर प्रदेशमाथि अन्याय गरिरहेको उनले बताए ।
केन्द्रिकृत मानसिकताका कारण प्रदेश सरकारप्रति प्रहार भइरहेको उनको भनाइ छ । संविधान र कानुनले दिएका राजस्व बाँडफाँटजस्तो विषयमा समेत विभिन्न अड्चन झिकेर रोक्ने काम भएको बताउँदै उनले प्रदेशलाई बजेट दिन संघीय सरकारले आनाकानी गरेको गुनासो गरे ।
‘संघले हामीलाई खटाई खटाई खान दिएजस्तो गर्छ’, उनले भने, ‘यो तोडेर अगाडि नबढेसम्म प्रदेशका कानुन कार्यान्वयन गर्न र प्रदेशलाई समृद्ध बनाउन सकिदैन ।’
प्रदेशका कानुनहरु जनतामाझ नपुगेको गुनासोलाई सम्बोधन गर्ने मुख्यमन्त्री कार्कीले बताए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



