झापा ।
नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाण्डूबाट मङ्गलवार नियन्त्रणमा लिइएका सिरोहियालाई शुक्रवार दोस्रो पटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो।
अदालत लैजानुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा सिरोहियासँग बयान लिइएको थियो। बयानका क्रममा उनले आफूले एउटा मात्र नागरिकता लिएको र किर्ते नगरेको दाबी गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई थप पाँच दिन हिरासतमा राख्न माग गरेको थियो।
गत बुधवार अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
सहकारीको बचत अपचलनका विषयमा गृहमन्त्रीमाथि लागेको आरोपबारे निरन्तर समाचार प्रकाशित गरिरहेको कान्तिपुरका अध्यक्षलाई प्रतिशोध लिन पक्राउ गरिएको भन्दै विभिन्न सङ्घसंस्थाले उनको रिहाइको माग गर्दै आएका छन्।
सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो।
जाहेरी दिने व्यक्ति गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको विवरण विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



