कोशी सरकार विस्तारमा कांग्रेसमै असन्तुष्टि चुलियो

प्रदेश राजनीति

झापा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेको विषयमा नेपाली काँग्रेसभित्रै असन्तुष्टि बढेको छ । मुख्यमन्त्री कार्कीले शुक्रबार सरकार विस्तार गरेका थिए ।
सरकार विस्तारका विषयमा पार्टीमा कुनै छलफल नगरि मुख्यमन्त्रीले मनोमानी ढंगले सरकार विस्तार गरेको भन्दै कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कार्कीको खुलेरै विरोध मात्र गरेका छैनन्, पार्टीले मुख्यमन्त्रीलाई बोकेर हिँड्न नसक्ने चेतावनीसमेत दिएका छन्

उनले भने, ‘पार्टी तथा गठबन्धनले अब मुख्यमन्त्रीज्यू बोकेर जान नसक्ने स्थिति आयो ।’ थापा मुख्यमन्त्री कार्कीले विस्तार गरेको सरकारका मन्त्रीहरू शपथ कार्यक्रममा पनि सहभागी भएनन् ।

थापाले भने, ‘सांसद पनि इमान्दार भएनन् । स्थानीय तहका जनप्रतिनिधि पनि इमान्दार भएनन् भन्ने कुरा राष्ट्रिय सभा चुनावले देखायो । कोशीको राजनीति अस्तव्यस्त हुने स्थितिमा पुग्यो ।’

पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले पनि सरकार विस्तारको विषयमा असन्तुष्टि जनाइसकेका छन् । उनले वर्तमान सरकारको विकल्प खोज्न सकिनेसम्मको प्रतिक्रिया दिएका छन् ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार चार जना मन्त्री तथा दुई जना मन्त्री थप गर्दै मन्त्रीमण्डलको संख्या १० पुर्याएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् । जसमा स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ (राम) रहेका छन् ।

नवनियुक्त मन्त्रीहरु सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम काँग्रेसका हुन् ।

उनीहरुमध्ये तीन जना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येका हुन् ।

यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् । बरियतामा मुख्यमन्त्रीपछि प्रदिपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *