राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सत्ता गठबन्धनभित्र विवाद बढ्ने संकेत

ताजा समाचार राजनीति

झापा/राष्ट्रिय सभामा अध्यक्ष पदलाई लिएर सत्ता गठबन्धन दलमा विवाद बढ्ने संकेत देखिएको छ । 

राष्ट्रिय सभामा पहिलो दल बन्न लागेको माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेपछि सत्ता गठबन्धनबाट साझा उम्मेदवार चयन गर्ने विषय पेचिलो बनेको हो । 

माओवादी संसदीय दलको बैठकमा राष्ट्रिय सभामा अध्यक्ष पद छाड्न नहुने दबाब बढेको छ । सत्ता घटकको प्रमुख दल नेपाली कांग्रेसले भने राष्ट्रिय सभाको अध्यक्ष पद आफ्नो पार्टीलाई दिने विषयमा निर्वाचन अघि नै सहमति भएको दाबी गरेको छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भन्नुभयो, ‘राष्ट्रिय सभामा अध्यक्ष पद कांग्रेसले पाएन भने संवैधानिक परिषदमा हाम्रो उपस्थिति शून्य हुन्छ, त्यसैले पनि निर्वाचन अघि नै अध्यक्ष पद कांग्रेसलाई दिने सहमति भईसकेको छ ।’

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता एवं प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । 

राष्ट्रिय सभामा माओवादीलाई दिने हो भने कांग्रेसबाट उपस्थिति शून्य हुने भएकाले पनि सो पद आफ्नो पार्टीले पाउने विश्वकर्माको जिकिर छ ।

सत्तारुढ माओवादी केन्द्रले पनि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भएकाले अध्यक्ष पद छाड्न नहुने तर्क गरेको छ । 

राष्ट्रिय सभामा कोशी प्रदेशको निर्वाचन मत परिणामलाई लिएर माओवादी केन्द्र कंग्रेससँग चिढिएको हो । सोही विषयलाई लिएर माओवादीले राष्ट्रिय सभामा अध्यक्ष पद दाबी गरेको कांग्रेसको बुझाई छ ।

यत्ता गठवन्धनको अर्को दल एकीकृत समाजवादीले पनि राष्ट्रिय सभा अध्यक्षको पदमा दाबी गरेको छ । 

राष्ट्रिय सभा निर्वाचन अघि अध्यक्ष पद आफ्नो पार्टीलाई दिने सर्तमा २ वटा सिटमा सहमति गरिएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *