दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २०८२ सालको कक्षा १२ परीक्षामा उत्तीर्ण भएका आफ्ना शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई ‘मेची छात्रवृत्ति पुरस्कार’ प्रदान गर्ने भएको छ।
संस्थाले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा उनीहरूको शैक्षिक यात्रामा थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले उक्त पुरस्कारको व्यवस्था गरेको जनाएको छ। आगामी एकाइ साधारणसभाको अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने योग्य विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिने संस्थाले जानकारी दिएको छ।
छात्रवृत्ति पुरस्कारका लागि आवेदन दिन इच्छुक विद्यार्थी तथा सम्बन्धित शेयर सदस्यले कक्षा १२ को ट्रान्सक्रिप्ट, शेयर सदस्यसँगको नाता खुल्ने आधिकारिक कागजात तथा संस्थाको सदस्यता परिचयपत्र सहित आफू नजिकको सेवा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
संस्थाले तोकिएको मापदण्डअनुसार प्राप्त आवेदनको अध्ययन तथा मूल्याङ्कन गरी उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छनोट गर्ने जनाएको छ। यस कार्यक्रममार्फत विद्यार्थीको शैक्षिक उपलब्धिलाई सम्मान गर्नुका साथै आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।
मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा उनीहरूका परिवारको आर्थिक, सामाजिक र शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सदस्यकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। छात्रवृत्ति पुरस्कार कार्यक्रम पनि संस्थाको सामाजिक तथा शैक्षिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
सम्बन्धित सबै शेयर सदस्यलाई आवश्यक कागजातसहित तोकिएको समयभित्र नजिकको सेवा कार्यालयमा सम्पर्क गरी आवेदन प्रक्रिया पूरा गर्न संस्थाले अनुरोध गरेको छ। छात्रवृत्ति पुरस्कारका लागि आवेदन बुझाउने अन्तिम मिति २०८३ साल भदौ २५ गतेसम्म रहेको जनाइएको छ।

What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



