झापा/ बुधबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बैठकले न्यायिक नियुक्तिदेखि कर छुट, अन्तर्राष्ट्रिय विमानस्थल प्रोत्साहन र मिटरब्याज पीडितका माग सम्बोधनसम्मका निर्णय गरेको छ।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू यस्ता छन्
-विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरिएको छ।
-श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
-गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
-पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित उडानलाई प्रोत्साहन गर्न २०८५ साल भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।
-मिटरब्याज पीडित नागरिकका माग सम्बोधन गर्न गठित समिति र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गरिएको छ। साथै, सम्झौताअनुसार मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरिएको छ।
-गणेश नेपालीको आत्महत्या प्रकरणको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरिएको छ।
-आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम लागू गरिएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, लगानी तथा पर्यटन प्रवर्द्धन, सामाजिक न्याय र जनचासोका विषयलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको जनाएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



