झापा/प्रेस चौतारी नेपालले राजावादी समुहका नाममा भएको आगजनीमा परी भएको मृत्यु र सञ्चारमँध्यमहरु माथी भएको आक्रमण लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने षडयन्त्र भएको बताएको छ । चौतारीले आज एक विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी शुरेस रजकको जलेर मृत्यु भएको घटनामा चौतारी स्तब्ध भएको जनाएको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीले हिंसात्मक ढंगले एक निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलाबाट समाचार छायांकन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ। त्यस्तै, प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट दैनिकमा आगजनी प्रयास, कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार तथा हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन्।
शान्तिपूर्ण प्रदर्शन नागरिक अधिकार भए तापनि आन्दोलनको नाममा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लक्षित गरी गरिएका यस्ता अराजक गतिविधिहरू गम्भीर चिन्ताको विषय हुन्। आज सम्पन्न प्रेस चौतारी नेपालको प्रथम केन्द्रीय समिति बैठकले सो घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। साथै, घटनामा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
जनताको बलिदानी, संघर्ष र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई अस्थिर पार्ने यस्ता अराजक गतिविधिहरूलाई तत्काल निष्तेज गर्न सरकारलाई आग्रह गर्दै प्रेस चौतारी नेपालले पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्न माग गर्दछ। संविधान प्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्दै कुनै पनि पत्रकारलाई समाचार संकलन, सम्प्रेषण तथा प्रकाशनमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरूलाई अपील गर्दछ विज्ञप्तिमा भनिएको छ ।
प्रेस चौतारी नेपालले काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु तथा सञ्चारमाध्यममाथि आक्रमणको घटनालाई गम्भीर रूपमा लिँदै कडा आपत्ति जनाएको छ। सम्बन्धित दोषीहरूलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न अपील गरिएको छ।
यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति
कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका सञ्चारकर्मीको ज्यान गुमेको र सञ्चारकर्मी, सञ्चारमाध्यममाथि भएको आक्रमणको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ ।
काठमाडौंको तीनकुनेमा आज प्रदर्शनकारीले हिंसात्मक ढंगले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायाँकन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ । यसैगरी, प्रदर्शनकारीले अन्नपूर्ण पोष्ट दैनिकमा आगजनीको प्रयास गर्नुका साथै कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार र हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन । शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भएपनि आन्दोलनको बहानामा भएका यस्ता अराजक एवं आपत्तिजनक गतिविधिको शिकार सञ्चारकर्मी र सञ्चारमाध्यम हुनु गम्भीर चिन्ताको विषय हो । आज काठमाडौंमा सम्पन्न प्रेस चौतारी नेपालको प्रथम केन्द्रीय समिति बैठकले सो अराजक घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । यस्ता घटनामा संलग्न दोषीहरुमाथि कडा कारबाही गर्न पनि बैठकले सरकारसँग जोडदार माग गरेको छ ।
जनताको बलिदानी, कष्टसाध्य संघर्ष र त्यागबाट प्राप्त नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि धाबा बोल्दै भइरहेका यस्ता अराजक गतिविधिलाई तत्काल निष्तेज गर्न प्रेस चौतारी नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकारहरुको सुरक्षाको प्रत्याभूति दिलाउन तथा निर्वाध रुपमा समाचार संकलन, सम्प्रेषण र प्रकाशन/प्रशारणमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरुलाई हामी अपील पनि गर्दछौं ।
हिरामान लामा
महासचिव