गौरादह/झापाको गौरादह नगरपालिकाले टोलसम्म पुगेर नागरिकको अपेक्षा सुन्ने भएको छ । अघिल्लो वर्ष गरेका काम र त्यसको प्रभाव मुल्यांकलनका लागि नगरपालिकाले यो कार्यक्रम गर्ने भएको हो । भाेली पुस १२ गतेदेखि वडा नं २ बाट कार्यक्रम शुरू हुने छ ।टोल सम्म पुगेर नागरिकका सुझाव र प्रतिकृया संकलन गरिने छ । अघिल्लो आर्थिक वर्ष पनि नगरपालिकाले हरेक टोल सम्मै पुगेर नागरिकका अपेक्षा सुनेको थियो ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जनताको घर सम्म पुगेर सेवा प्रवाह, विकास निर्माणका बिषयमा अन्तकृया गरिने बताए । उनका अनुसार १६ दिन सम्म नागरिकका गुनासा, अपेक्षा सुनिने छ ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाका प्रमुख सहित सम्बन्धित वडाअध्यक्ष प्रत्येक वडामा बढीमा ३ दिन सम्म नागरिकका सुझावहरु लिने छन् । अघिल्लो वर्ष जनप्रतिनिधीहरु त्यसरी सुझाव संकलन गरेर फर्के पछी हिउँदे सभा मार्फत जनप्रतिनिधीको सुविधा घटाएका थिए । नगर प्रमुख सुवेदीले भने,– नगरपालिकाबाट भएका गतिविधि, सेवा प्रवाह, सुशासन कायम जस्ता बिषयमा नागरिकको सुझाव लिएर थप जनउत्तरदायी बनाउने विश्वास लिएका छौ । उनका अनुसार सबै शाखाका प्रमुख, समितिका संयोजक र वडाका जनप्रतिनिधिहरु कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिने छन् । ती कार्यक्रम सवालजवाफ हुने छ । हामीले बर्खे सभामा ल्याएका योजनाहरु कार्यान्वयनको अवस्था सुनाउने छौ, नगरप्रमुख सुवेदीले भने,– नागरिकको सुझाव पछी हिउँदे सभामा संशोधन गरिने छ । उनका अनुसार अघिल्ला वर्ष पनि सुझावलाई मध्यनजर गर्दै केही योजनाहरु थप र केही संशोधन गरिएको थियो ।
पुस १२ गतेदेखि २९ गते सम्म प्रत्येक वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम हुने छ । पुस १२ गते गौरादह २ बाट कार्यक्रम शुरु भएर पुस २९ गते गौरादह १ मा समापन हुने छ । कार्यक्रम सँगसँगै बिशेषज्ञ चिकित्सकहरुले समेत स्वास्थ्य जाँच गर्ने छन् ।
नगर प्रमुख सुवेदीका अनुसार ७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण र पाँच वर्ष मुनिका बालबालिकाको पोषण जाँच पनि गरिने छ । दन्त, आँखा र सामान्य चिकित्सा सँग सम्बन्धीत चिकित्सकहरुले स्वास्थ्य जाँच गर्ने छन् । गौरादहका ९ वटै वडामा स्वास्थ्यकर्मी सहितको टोलीले निशुल्क औषधी समेत वितरण गर्ने छ ।
Share