झापा/बडा दसैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँने गरिन्छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ। सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने समितिले जनाएको छ।देवी विर्सजनको साइत भने बिहान ८ः३३ बजे रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्दा उत्तम हुनेछ। चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने अधिकारीले बताए। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका लगाउने गर्छन् ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



