अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

Share

झापा ।पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।
अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताउनुभयो । चार पाङ्ग्रे ठूला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।
उहाँले राजमार्ग अन्तर्गतको इलाम–राजदुवाली खण्डमा भएको सडक अवरुद्ध सबै सफा पारिसकिएको र सवारी आवातजावत सहज भइरहेको बताउनुभयो ।
चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय इलामले बाटो खुलाएको हो । पहिरोले चुँडाएको सडकमा ग्याबिङ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाएको हो ।
पहिरोले सडक चुँडिएपछि गत शुक्रबार दिउँसो ४ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माईखोला वारी र पारीबीच बाटोमै रोकिएका थिए । माईखोला पारीका सवारी साधनले माईखोलासम्म यात्रु ल्याउने र वारीका सवारी साधनले वारीसम्म यात्रु लैजाने गर्दै आएका थिए । सडक सञ्चालन भएसँगै अहिले सबै गन्तव्यतर्फ लागेका छन् ।

ताजा समाचार