बच्चाको ढिला सुत्ने बानी कसरी हटाउने ?

Share

झापा /बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पर्याप्त निद्रा अति आवश्यक हुन्छ । तर अहिलेका बालबालिका रातमा अबेरसम्म मोबाइल, ल्यापटपमा अभ्यस्त छन् ।

एक त आमाबाबु आफैं ढिला सुत्छन् । अर्को भनेको बच्चाले डिस्टर्ब नगरुन् भनेर उनीहरूलाई पनि मोबाइल वा टिभी हेर्न दिन्छन् ।

बालबालिकालाई त्यसपछि के चाहियो । उनीहरू धीत मरुन्जेल सामाजिक सञ्जालमा चौबीसै घण्टा आइराख्ने सामग्री, गेमहरू हेरेर अबेर सुत्ने र ढिला उठ्ने बानी विकास भइरहेको हुनसक्छ । जसको प्रभाव उनीहरूको दैनिकीमा परिरहेको छ ।

हेर्दा सामान्य लाग्छ, तर राति अबेर सुत्ने बानीले बच्चामा मोटोपन, एकाग्रतामा कमी, आलस्यता बढाउँदै गएको देखिन्छ ।

अबेर सुत्ने बानी कदापि राम्रो हुन सक्दैन । यो बानी हटाउन बच्चालाई सानैदेखि सुत्ने र उठ्ने निश्चित तालिका अभिभावकले बनाइदिनुपर्छ ।

के गर्ने त ?

बेलुकाको खाना छिटो खानुपर्छ

बच्चालाई समयमै सुताउन बेलुकाको खाना सूर्यास्त हुने बित्तिकै खुवाउनुपर्छ । यसले खाना छिटो पच्न पनि मद्दत गर्छ । बेलुकाको खाना र बालबालिकाको सुत्ने समयबी कम्तीमा २ देखि ३ घण्टाको अन्तर हुनुपर्छ । यसो गर्दा एसिड रिफ्लक्स र अन्य पाचन समस्याबाट बच्न सकिन्छ ।

खानपानमा ध्यान दिने

बच्चाको निद्रा र खाने बानीबीच गहिरो सम्बन्ध हुन्छ । बच्चाले बेलुकाको खानामा जे खान्छ त्यसले उसको निद्रामा असर गर्छ । त्यसैले बच्चालाई सुत्ने समयमा मिठाई, चकलेट, जुस, कफी लगायत टाढा राख्नुपर्छ ।

किनभने गुलियो तथा क्याफिनयुक्त पेयले उनीहरूलाई ऊर्जा दिन्छ, जसकारण तिनीहरू सक्रिय हुन्छन् र चाहेर पनि सुत्न सक्दैनन् । त्यसैले बच्चाको बेलुकाको खानालाई सधैं हल्का बनाउनुपर्छ । यसले उनीहरूमा आरामको अनुभूति गराउनेछ र सजिलै निदाउन सक्छ ।

स्क्रिन समयमा ध्यान दिनुहोस्

सामान्यतया बालबालिकाले आफ्ना आमाबाबुसँग लामो समय टिभी वा मोबाइल हेर्छन् । स्क्रिनबाट नीलो प्रकाशले बालबालिका र वयस्कहरूको निद्रामा बाधा पुर्‍याउँछ । त्यसैले बच्चालाई सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि स्क्रिनबाट टाढा राख्नुपर्छ ।

चिनी र क्याफिन कम गर्ने

बालबालिकालाई चिनी र क्याफिनबाट टाढै राख्नुपर्ने भएपनि अधिकांश बालबालिकाले सुत्नुअघि दूध पिउने गर्छन् । जसमा कफी वा चकलेटको पाउडर पनि मिसाइन्छ ।

तर चिनी र क्याफिन दुवै निद्राका शत्रु हुन् । त्यसैले बच्चालाई सुत्नुअघि दूध नदिनुहोस् । बच्चाहरूलाई दूध खुवाउने सबैभन्दा राम्रो समय साँझ ४ देखि ६ बजेसम्म हो ।

सुत्ने समयको तालिका बनाउनुहोस्

सुत्नु भन्दा कम्तीमा ३० मिनेट पहिले बच्चालाई किताबहरू पढाउन लगाउने, कथाहरू सुनाउने गर्ने हो भने उनीहरूमा छिटो सुत्ने बानी पर्छ । यसबाट उनीहरू मानसिक र शारीरिक रूपमा सुत्न तयार हुन्छन् । तर यो समयमा बच्चालाई सुत्नुअघि खेल्ने वा ठट्टा गर्ने जस्ता गतिविधि गर्नु हुँदैन । यसले बच्चाको दिमाग सक्रिय रहन्छ र उनीहरू निदाउन चाहँदैनन् ।

निद्रा लाग्ने वातावरण

सफा, स्वच्छ र शान्त वातावरण राम्रो निद्राका लागि धेरै महत्त्वपूर्ण छ । बच्चाका निद्रामा कुनै प्रकारको गडबडी नहोस् भन्ने हिसाबले उनीहरूको कोठा तयार गर्नुपर्छ । त्यसका लागि उनीहरूको कोठा सफा हुनुपर्छ । सिरानी, डस्ना सफा र सहज हुनुपर्छ । उनीहरू सुत्ने कोठामा बाहिरको होहल्ला आउनु हुँदैन । बत्ती मधुरो राख्नुपर्छ । बच्चाहरुमा रातिको लागि हल्का पहिरन लगाइदिनुपर्छ ।अनलाईनखबरबाट साभार

ताजा समाचार