नबनियुक्त प्रधानमन्त्ती ओलीसँग दमकको अपेक्षा– ‘भ्यूटावर चलोस्, औद्योगिक पार्क निर्माण होस्’

Share

झापा /एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बनेसँगै उनको गृहनगर दमकका स्थानीयले भ्यूटावर चल्ने र औद्योगिक पार्क निर्माण सम्पन्न हुने विश्वास लिएका छन् । दमक–३ ढुकुरपानीमा १८ तल्ले भ्यूटावर निर्माण सम्पन्न भइसकेको छ । तर, चल्न सकेको छैन ।

यस्तै दमक नगरपालिका–१०, गौरादह नगरपालिका–५ र कमल गाउँपालिका–७ को संगमस्थल रतुवा नदीआसपासमा दुई हजार दुई सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क बनाउने योजना शिलान्यास भए पनि निर्माण सुरु भएको छैन ।
चिनियाँ सरकारको ६४ अर्ब लगानीमा बन्ने उक्त पार्क बन्ने कुरामा पनि अन्योल छ । इलेक्ट्रोनिक सामग्री उत्पादनका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापनको भनाइ छ । विद्युतीय सवारीदेखि मोबाइलसम्म उत्पादन गर्ने भनिएको औद्योगिक पार्कमा चिनियाँ र कोरियन उद्योग सञ्चालन गर्ने योजना छ ।

दमक नगरपालिकाका प्रमुख राम थापाले आफ्नो नगरपालिकाकासहितको क्षेत्रबाट निर्वाचित केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा बधाई र शुभकामना व्यक्त गरे । ‘हामीले भोट हालेर जिताएका मान्छे हो । दमकमा धेरै कुराहरू अधुरा छन् । धनीपूर्जा पाएका छैनन् नागरिकले, भ्यूटावर अलपत्र छ, औद्योगिक पार्क अलपत्र छ, तटबन्धन बनेको छैन । भौतिक पूर्वाधारहरू धेरै निर्माण हुनुपर्ने आवश्यकता छ,’ थापाले भने, ‘अब आशा पलाएको छ । उहाँले यो काम सम्पन्न गर्नुहुनेछ ।’

दमक उद्योग वाणिज्य महासंघका अध्यक्ष गोपाल गुरागाईंले दमकका उद्यमी व्यवसायी खुसी भएको बताए । केपी ओली प्रधानमन्त्री हुँदा सुरु भएको औद्योगिक पार्क निर्माण सम्पन्न हुनुपर्ने उनले बताए ।

‘उहाँले नै निर्माण सुरु गर्नुभएको औद्योगिक निर्माण सम्पन्न हुनुपर्छ । व्यापारिक टावरको हिसाबले निर्माण सम्पन्न भएको टावर कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि हामीले चासो राखेका छौँ,’ गुरागाईंले भने, ‘काँग्रेस र एमाले मिलेर सरकार बनाएको छ । यति बलियो सरकारले टावर सञ्चालन गर्न सक्नेछ भन्ने विश्वास लिएका छौँ ।’

उनले रवि–चिसापानी सडकले पूर्णता नपाएको बताउँदै त्यसलाई पूर्णता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गर्ने विश्वास लिएको बताए । औद्योगिक पार्क सम्पन्न भए नेपालमा उत्पादन भएको सामान बंगलादेशसम्म निर्यात हुनसक्ने अवस्था आएको भन्दै उनले यसलाई निर्माण सम्पन्न गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

दमकका स्थानीय नेता रमेश गुरागाईंले भने प्रधानमन्त्रीले एउटा क्षेत्र विशेष मात्रै नभएर देशका समग्र आवश्यकता सम्बोधन हुनुपर्नेमा जोड दिए ।

‘क्षेत्रमै विकास गर्ने र चुनाव जित्नलाई सजिलो बनाउने प्रयास यसअघि हुँदै आएको छ,’ उनले भने, ‘त्यही कारणले कहिले काँही ठूलो गल्ती हुनसक्छ । दमकमा भ्यूटावर बनाउनु गल्ती भएको छ । उहाँले पनि त्यो फिल गर्नुभएको होला जस्तो लाग्छ । उहाँ निर्वाचन जित्नका लागि बजेट जथाभाबी हाल्ने भन्दा देशको प्राथमिकता छुट्याएर शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्न तिर लाग्नुपर्छ ।’

उनले दमकमा शिक्षा क्षेत्र अत्यन्तै धराशायी भएको बताए । ‘दमकका वा प्रधानमन्त्रीको क्षेत्रका सामुदायिक विद्यालयको स्तर एकदमै खस्किएको छ । यहाँ पठनपाठनमा पनि लापरबाही छ । शैक्षिक संस्थाको भवन तथा पूर्वाधारहरू पनि कमजोर छन् । विकासमा प्रधानमन्त्रीले ध्यान दिनु आवश्यक छ,’ उनले भने ।

ताजा समाचार