झापामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर घाइते

Share

झापा – झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ अटोरिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित भइ पल्टिँदा ताप्लेजुङ घर भइ हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीया सामना लिम्बू र तामाङ घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्की घाइते सामना लिम्बूको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण सो अटो सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर पल्टिएको जनाइएको छ ।

प्रहरीले अटो र अटो चालक बिर्तामोड ९ का ४२ वर्षीय अरुणकुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।

ताजा समाचार