एमाले झापाको अधिवेशन :सबै पदमा सर्वसम्मत गर्ने प्रयास जारी

Share


झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनले सबै पदहरुमा सर्वसम्मत गर्ने तयारीका साथ नेताहरु कसरतमा लागेका छन् । पदाधिकारीमा पनि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मतका लागि नेताहरु जुटेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचन हुने मिति तय भएको थियो । तर, मुख्य पदहरुमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मत गर्न नेताले बल लगाइरहेका छन् । त्यसका लागि कार्यतालिका नै संशोधन गरिएको छ
अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा शिव ढुङगेल सर्वसम्मत भइसकेका छन् । उपसचिव पुरुषमा असारु राजवंशी र महिला उपसचिव पदमा अनिता कन्दङवा पनि सर्वसम्मत भइसकेको बताइएको छ । सचिव पदमा तुलसी कार्की र बोधप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यहरुमा ६ वटा पालिकामा सर्वसम्मत भइसकेको अध्यक्ष मण्डलका अध्यक्ष विशाल भट्टराईले जानकारी दिए । उनले अन्य पालिकाहरुमा पनि सर्वसम्मतका लागि नेताहरु छलफलमा रहेको बताएका छन् । नेता भट्टराईले भने– ‘१५ समूहमा क्लस्टर बनाएर छलफल चलिरहेको छ । सबै उम्मेदवारको भावना सम्बोधन गरेर सर्वसम्मत गर्ने प्रयास जारी छ । सकेसम्म निर्वाचनमा नजाऔं भन्नेछ, अधिकतम मेहनतबाट पनि सर्वसम्मत नभए प्रक्रियामा जानुको विकल्प पनि छैन ।’
जिल्ला कमिटीको सदस्य पदमा हल खुल्लाबाट छानिनुपर्ने ८ जनाको लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन् भने महिला चार जनाको लागि नौ जना, युवा खुल्ला दुई जनाको लागि छ जना र युवा महिला एक जनाको लागि एक जनाको मात्रै मनोनयन दर्ता भएको छ । सूचना अनुसार युवा महिला पदमा उम्मेदवारी दिने निर्विरोध निर्वाचित भएकी छन् ।

पालिका क्लस्टर अन्तर्गत कमल गाउँपालिकाको कोटामा पर्ने जिल्ला सदस्य संख्या सातजना रहेको छ । सोमध्ये खुल्ला भूगोलबाट चार पदका लागि ८ जना को मनोनयन दर्ता भएको छ भने महिला दुई जनाका लागि निर्विरोध दुईजना र युवा एकजनाका लागि तीन जनाको मनोनयन दर्ता भएको छ ।
पालिका क्लस्टर अन्तर्गत बाह्रदशी गाउँपालिकाले पाँच जना सदस्य पाएकोमा खुल्ला भूगोल दुई जनाको लागि चारजना को मनोनयन परेको छ । सो पालिकाबाट महिला दुई जनाको लागि दुई जना र युवा एक जनाको लागि एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।
झापा गाउँपालिकाको लागि ५ जना सदस्य कोटा रहेकोमा खुल्ला भूगोलमा दुईजना महिला दुईजना मा एकजना मात्र र युवा एकजनामा एकजना मात्र मनोनयन दर्ता भएको छ ।
कचनकवल गाउँपालिकाका लागि पाँचजना जिल्ला सदस्यको कोटा रहेकोमा खुल्ला भूगोल दुई जनाका लागि दुईवटा मनोनयन दर्ता भएको छ भने महिला दुई जनाका लागि दुई जना र युवा एक जनाका लागि एक जनाले मात्र मनोनयन दर्ता गरी पालिकालाई निर्विरोध निर्वाचित गर्न सफल भएको छ ।
यसैगरी शिवशताक्षी नगरपालिकाका लागि छुट्याइएको ११ जना जिल्ला सदस्यको लागि हल खुल्ला छ जनाको लागि १३ वटा मनोनयन परेको छ । महिला तीनजनाको लागि ७ जनाको नाम दर्ता भएको छ । भने युवा अन्तर्गत पुरुष क्लस्टरका लागि एक जनाको ठाउँमा दुईवटा र महिला क्लस्टरका लागि एक जनाको ठाउँमा दुईवटा मनोनयन दर्ता भएको छ ।
गौरादह नगरपालिकाको लागि जिल्ला कमिटी सदस्य ८ जनाको कोटा निर्धारण गरिएकोमा खुल्ला ४ जनाका लागि चारवटा मनोनयन महिला ३ जनाको लागि तीन वटा मनोनयन र युवा एक जनाका लागि दुई वटा मनोनयन पत्र दर्ता भएको छ ।

यसैगरी अर्जुनधारा नगरपालिकाको लागि १० जना जिल्ला सदस्य आउने व्यवस्था भए अनुसार खुल्ला भूगोल ५ जनाका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै महिला तीनजनाका लागि सात जनाले, युवा पुरुष एकजनाका लागि तीनजनाले र महिला एकजनाका लागि एकजनाको मात्रै मनोनयन दर्ता भएको छ ।
भद्रपुर नगरपालिकाका लागि जिल्ला कमिटी सदस्यमा ७ जनाको कोटा निर्धारण गरेर उम्मेदवारी दर्ता गर्दा खुल्ला चार जनाको लागि ९ जनाको मनोनयन दर्ता भएको छ। यस्तै महिला दुई जनाको लागि चार जनाको र युवा एक जनाको लागि दुई जनाको मनोनयन पत्र दर्ता भएको निर्वाचन समितिद्वारा प्रकाशित नामावलीमा उल्लेख छ ।
कन्काई नगरपालिकाको लागि ७ जना जिल्ला सदस्य छुट्याइएकोमा खुल्ला चारको लागि नौ जना महिला २ को लागि दुई जना र युवा एकको लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी दमक नगरपालिकाको लागि १० जनाको कोटा निर्धारण गरिएको छ। जस अनुसार हल खुल्ला५ जनाको लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् भने महिला तीनजनाको लागि छ जनाले नाम दर्ता गराएका छन्। युवा खुला एक पदको लागि तीन जनाको मनोनयन परेको छ। भने युवा महिला एक जनाको लागि दुई जनाको मनोनयन दर्ता भएको छ ।
गौरीगञ्ज गाउँपालिकाको लागि चारजना सदस्यको कोटा छुट्याइएको छ। जस अनुसार खुल्ला दुई जनाको लागि दुई जना महिला एकजनाको लागि एकजना र युवा एकजनाको लागि एक जनाको मात्रै मनोनयन पत्र दर्ता भएकोले सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको देखिन्छ ।
यसैगरी बिर्तामोड नगरपालिकाको लागि १० जना जिल्ला सदस्यको कोटा राखिएकोमा खुल्ला पाँच जनाको लागि २२ जना महिला तीनजनाको लागि ९ जना पुरुष युवा एकजनाको लागि एकजना र महिला युवा एकजनाको लागि दुई जनाको मनोनयन दर्ता भएको छ ।

मेचीनगर नगरपालिकाले ११ जना जिल्ला सदस्यको कोटा पाएको छ । जस अनुसार खुल्ला सदस्य पदमा ६ जनाको लागि १५ जनाको मनोनयन पत्र दर्ता भएको छ। यस्तै महिला तीनजनाको लागि चारवटा युवा खुल्ला एक जनाको लागि तीनवटा र युवा महिला एकजनाको लागि एकवटा मात्रै मनोनयन पत्र दर्ता भएको छ ।
तालिका क्लस्टर अन्तर्गत हल्दीबारी गाउँपालिकाका लागि ४ जना जिल्ला सदस्यको कोटा निर्धारण गरिएको छ। जसमा खुल्ला दुईजना सदस्यको लागि पाँचवटा महिला एक जनाको लागि तीनवटा र युवा एकजनाका लागि दुईवटा मनोनयन पत्र दर्ता भएको छ ।
यसैगरी बुद्धशान्ति गाउँपालिकाले प्राप्त गरेको छ जना जिल्ला सदस्यको कोटा अनुसार खुल्ला तीनजनाको लागि तीनवटा महिला दुईजनाको लागि दुईवटा मनोनयन पत्र दर्ता हुँदा उनीहरु निर्विरोध निर्वाचित भएका छन् । तर युवा एकजनाको लागि दुईजनाको मनोनयन पत्र दर्ता भएको छ।
समावेशी क्षेत्र अन्तर्गत दलित खुला तीनजनाको लागि १६ जना दलित महिला दुईजनाको लागि ७ जना आदिवासी जनजाति खुला तीन जनाको लागि १० जना आदिवासी जनजाति महिला दुई जनाको लागि छ जनाको मनोनयन पत्र दर्ता भएको छ ।
यसैगरी मधेसी खुल्ला एकजनाको लागि दुई जनाको मुस्लिम खुल्ला एकजनाको लागि एकजनाको सिमान्तकृत दुई जनाको लागि ७ जनाको मजदुर खुल्ला ३ जनाको लागि ७ जनाको र मजदुर महिला दुई जनाको लागि एक जनाको मात्रै मनोनयन दर्ता भएको छ। जिल्ला कमिटी सदस्य पदमा अपाङ्गता खुल्ला एक जना सदस्यको लागि दुईवटा मनोनयन पत्र दर्ता भएका छन् ।

जिल्ला कमिटीको कामको मूल्याङ्कन र निगरानी गर्ने एवं लेखा पारदर्शिता अपनाउन नियामकीय भूमिका खेल्ने लेखा कमिटी ७ जनाको रहेको छ। जस अन्तर्गत एकजना अध्यक्षका लागि तीन जनाको एकजना उपाध्यक्षको लागि दुई जनाको एकजना सचिवको लागि दुई जनाको तीन जना खुल्ला सदस्यको लागि र एकजना महिला सदस्यको लागि छ जनाको मनोनयन दर्ता भएको छ ।

समग्रमा जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दा कतिपय स्थानमा निर्विरोध निर्वाचित हुन लागेको देखिन्छ भने कतिपय पदहरूमा तीव्र प्रतिस्पर्धा हुने संकेत देखिएको छ । निर्वाचन समितिका अनुसार आज अपरान्नसम्म उम्मेदवारहरूबीच सहमति गरी उम्मेदवारी मनोनयन फिर्ता लिएर सर्वसहमतिको प्रयास गरिनेछ । सर्वसम्मति नभएका पदहरूमा भोलि १९ गते बिहान जिल्ला पार्टी कार्यालयमा मतदान गरी निर्वाचन प्रक्रिया पूरा गर्ने जनाइएको छ ।

ताजा समाचार