बाहुनडाँगीबाट मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा शुरु

Share

झापा —कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसादगौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गर्नु भएको छ । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ नेपाल भारत सीमाको मेची खोला किनारस्थीत प्रसादगौंडाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ ।

कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित जसको जंगल उसको मंगल कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा शुरु गरिएको बताउनु भएको छ । ‘जनता र हात्ती दुबैलाई दुःख नहुने गरी समस्या समाधान खोज्न हामी गाउँ बस्तीमा आफै आएका हौं, छलफल गरेर योजना बनाउन र बजेट बनाउन आएका हौं,’ उहाँले भन्नुभयो, जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो । समस्या पहिचान गर्ने प्रयास हो । सिंगो सरकार जनताको ठाउँमा समस्या हेर्न आएका हौं । दुःख बुझ्न आएका हौं ।’

पदयात्राका क्रममा स्थानीय हात्ती पीडित जनताको कुरा सुन्दै मुख्यमन्त्री कार्की ।

सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने मुख्यमन्त्री कार्कीले बताउनुभयो । सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना मुख्यमन्त्री कार्कीले सुनाउनु भयो ।बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविक मार्गमै पर्ने सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन ।

एसियन हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने गर्दछन । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसक्रममा मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । यस क्रममा मुख्यमन्त्री कार्कीले चार जिल्लाका विभिन्न २३ स्थानीय तह पुगी स्थानीय जनतासँग साक्षात्कार गर्नु हुनेछ । ‘उहांहरूको समस्याबारे प्रत्यक्ष जानकारी लिन्छु,’ कार्कीले भन्नुभयो, ‘बाहुनडाँगी अध्ययन गर्ने स्थल पनि बनोस भन्ने सरकारको चाहना छ ।’मानव जीवनको उत्पत्तिदेखि नै प्रकृति, वनजङ्गल, अन्य जीवजन्तु र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।

पछिल्लो समय मानव हात्तीबिच द्वन्द्व बढ्दै गएको छ । सदियौंदेखि दक्षिण एसियाको नेपाल र भारतको आसाम तथा पश्चिम बङ्गाल क्षेत्रमा सयकडौँको सङ्ख्यामा एसियाली हात्तीहरुको प्राकृतिक वासस्थानमा विचरण गर्दै आउँछन ।कोशी प्रदेशका चार जिल्लामा पछिल्लो पाँच दशकयता यी जिल्लाहरूमा जनसङ्ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको सङ्कुचन र प्राकृतिक बासस्थानको क्षयीकरण भएको छ । थापामा मात्र २०६७ यता हात्तीसंगको द्वन्द्वमा ६५ जना र २१ हात्तीको मृत्यु भएको छ । यसले गर्दा एकातिर हात्तीले मानवीय घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ भने अर्कोतर्फ विभिन्न दुर्घटना, शिकार तथा प्रतिशोधजन्य कारणबाट वर्षेनी हात्तीको समेत मृत्यु हुने गरेको छ ।

हात्तीको प्राकृतिक बासस्थानको संरक्षण गर्दै मानवीय क्षति न्यूनीकरणका लागि अभियान सार्थक हुने प्रदेशस्थित पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,“हालसम्मका अनुभवबाट सिकेर असल प्रयासहरूलाई निरन्तरता दिँदै संरक्षण एवम मानव–हात्ती सहअस्तित्वलाई अझ सफलीभूत बनाउने हाम्रो प्रयास हो । यो सबैको जिम्मेवारी पनि हो ।”

प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीको सभापतित्वमा सम्पन्न पदयात्रा शुभारम्भ कार्यक्रममा प्रदेश सांसद सबिना बजगाई, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर वडा नं। ४ का अध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन तथा वतावरण संरक्षण मञ्चका अध्यक्ष सागर कार्कीलगायतले मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्राले हात्तीको समस्या समाधानमा ठोस पहल हुने विश्वास व्यक्त गरेका थिए ।कार्यक्रम शुभारम्भमा कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, हात्ती पीडित परिवारकी जगनमाया थापालगायत सहभागी थिए । गाइनेहरुले हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमुलक गीत गाएर अभियान शुरु गरिएको थियो ।

ताजा समाचार