दमक/ कमल गाउँपालिका स्थित गुहेस्वरी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमबीच ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। कक्षागत रूपमा उत्कृष्ट, गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
वि.सं. २०६९ सालमा विद्यालयका पूर्व प्रधानाध्यापक वासुदेव सापकोटाको पहलमा स्थापना गरिएको ‘गुहेश्वरी अक्षय कोष’ मार्फत छात्रवृत्ति वितरण गरिएको हो। कोषले कक्षा १ देखि ८ सम्मका कक्षागत प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः जनही १५०० र १२०० रुपैयाँ प्रदान गरेको छ भने गरिब तथा जेहेनदार विद्यार्थीलाई जनही १००० रुपैयाँका दरले सहयोग गरिएको जनाएको छ।
हाल अक्षय कोषमा ११ जना सदस्य रहेका छन्। कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू ऋषिराज भण्डारी र हेमकुमार न्यौपाने, समाजसेवी तथा शिक्षाप्रेमी भवानीप्रसाद सापकोटा, गीता गजुरेल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजकुमार घिमिरे लगायत विद्यालय व्यवस्थापन समिति सदस्य, आमा समूह तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमकुमार श्रेष्ठले विद्यालयका गतिविधिबारे जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम अक्षय कोष समितिका अध्यक्ष वासुदेव सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो।




What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



