झापा पुगे ओली, एक साता आफ्नो निर्वाचन क्षेत्रमा बिताउने

Share

झापा/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ आइपुगेका छन् । चन्द्रगढी विमानस्थलबाट उनी बिर्तामोड हुँदै निर्वाचन क्षेत्र नम्बर ५ मा आएका हुन् ।

उनलाई प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे लगायतका एमालेका नेता तथा कार्यकर्ताहरूले स्वागत गरे । विमानस्थलमा पुगेका सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले झापाको निर्वाचनका विषयमा भइरहेका कामका बारेमा सुझाव मागे ।

उनले शन्ती सुरक्षाको अवस्था र निर्वाचनको वातावरणका विषयमा पत्रकारहरूको प्रतिक्रिया सुनेपछि एमाले मय झापा र एमाले मय देश बनाउन सहयोग गर्न अपिल गरे । उनले पत्रकारसँग संक्षिप्त कुरा गर्दै भने ‘अहिले देश विषम परिस्थितमा पुगेको छ । देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ ।’ उनले यस पटक झापा ओलीमय भएको दाबी गरे ।

एमाले अध्यक्ष ओली फागुन २१ गतेका लागि हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गराउन आएका माघ ५ गते झापा आएका थिए । उनी माघ ९ गते काठमाडौँ फर्किएका थिए ।

झापा आएका एमाले अध्यक्ष ओली एक साता आफ्नो निर्वाचन क्षेत्रमा बस्ने कार्यक्रम रहेको छ । एमाले झापा सचिव तुलसी कार्कीले अध्यक्ष एक साता आफ्नो निर्वाचन क्षेत्रमा बस्ने बताए ।

उनले अध्यक्ष ओली भोली र पर्सी कमल गाउँपालिका केन्द्रित भेटघाटमा रहने बताए । उनले भने,‘यस पटक पालिका केन्द्रित कार्यक्रमहरू छन् । भेटघाटलाई प्राथमिकता रहने गरी कार्यक्रम तय भएको छ । ’

ताजा समाचार