दादुरा–रुबेलाबारे १७ प्रश्न र जवाफ

ताजा समाचार समाज

. दादुरा–रुबेला कस्तो प्रकारका रोगहरू हुन?

दादुरा रोग मिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ। दादुरा संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत गराउन सक्छ। रुबेला रोगको असरहरू दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी वच्चा जन्मने, मृत वच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखापर्न सक्छन्। बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो।

२. दादुरा–रुबेला रोगहरू कसरी सर्दछन्? दादुरा–रुबेलाका भाईरस मानिसमा मात्र सर्दछ। यी भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रहेर बृद्धि हुने र स्वाश नलि एवम् अरु भित्री अंगहरुमा संक्रमण गर्दछ। रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ। सामान्य अवस्थामा एकजना संक्रमित व्यक्तिबाट १८ जनासम्म व्यक्तिहरूलाई सर्न सक्छन्। त्यसैगरी यी रोगबाट सामान्यतयाः १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालिन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ।

३. दादुरा–रुबेला रोग लाग्दा देखिने मुख्य चिन्ह र लक्षणहरू के के हुन?ज्वरो आउनु र शरीरमा राता विमीरा देखापर्नु दादुरा र रुबेला रोगका मुख्य चिन्ह, लक्षण हुन। नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रुघा खोकीका लक्षण, चिन्हहरू पनि देखिन सक्छन्।

४. दादुरा–रुबेला रोग भएमा के के जटिलताहरू हुन सक्छन्?दादुराबाट पखाला लाग्ने, कानको संक्रमण हुने, न्यूमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट विरामीको मृत्यु समेत हुनसक्छ। रुवेलाको संक्रमणबाट हाडजोर्नीहरू सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने र यस प्रकारका जटिलताको कारण विरामीको मृत्यु समेत हुनसक्छ।

५. गर्भावस्थामा रुबेला संक्रमणको कारणले हुने जन्मजात विकलाङ्ग भनेको के हो?गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भमा भएको बच्चामा गम्भिर असर हुन्छ र बच्चा जन्मिदा विभिन्न विकृतिहरु हुन सक्छन्, जसलाई कन्जेनाईटल रुबेला सिण्ड्रोम भनिन्छ। यस्तो अवस्थामा गर्भपतन हुने, मृत बच्चा जन्मने, जन्मदै कान नसुन्ने, आंखा नदेख्ने, मुटुमा गम्भिर असर हुने, मानसिक विकासमा अवरोध हुने, कलेजो, फियोमा असर हुने जस्ता जन्मजात जटिलताहरू हुन्छन्।

६. दादुरा–रुबेलाको औषधी उपचार हुन्छ कि हुँदैन? र यी रोगवाट कसरी बच्न सकिन्छ?

दादुरा–रुबेला रोगको निश्चित औषधी उपचार छैन। यी रोगको उपचार गर्नु भनेको लक्षण, चिन्हको अपचार गर्नु हो। जस्तै– ज्वरो आएको भएमा पारासिटामोल दिने, पखाला लागेको भएमा पुनर्जलीय झोल दिने, आदि। यी रोग लाग्नबाट बच्नको लागि दादुरा–रुबेला खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र उत्तम उपाय हो। यो खोप नियमित खोपमा ९ महिना र १५ महिनाको उमेरमा २ मात्रा लगाउनै पर्दछ। साथै दादुरा–रुबेला खोप अभियानमा पनि तोकिएको उमेर समूहका सबै बालबालिकालाई थप पटक यो खोप लगाउनै पर्दछ।

७. दादुरा–रुबेला खोप अभियान किन सञ्चालन गर्नु परेको हो?कोभिड–१९ को महामारीको समयमा नियमित खोपबाट दादुरा–रुबेला खोप लगाउन धेरै बालबालिका छुट भई दादुराको महामारी विभिन्न जिल्लाहरुमा फैलिएको हुँदा बालबालिकालाई यो खोप दिएर रोगसँग लड्न सक्ने क्षमता प्रदान गरी संक्रमण दर, रोग दर, मृत्यु दर घटाई सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य हासिल गर्नको लागि यो अभियान सञ्चालन गर्नु परेको हो।

८. यस अभियानमा दादुरा–रुबेला खोप लगाएपछि नियमित मात्रा छुटेकाले छुट मात्रा लगाउनु पर्छ कि पर्दैन?पर्छ। अभियानको अवसरमा दादुरा–रुबेला खोप लगाए पनि १५ महिना मुनिका बालबालिकाले नियमित खोपको दुई मात्रा पूरा गर्नुपर्छ।

९. दादुरा–रुबेला खोप अभियान कहाँ कहाँ हुँदैछ? दादुरा–रुबेला खोप अभियान देशभरी नै सञ्चालन हुँदैछ।

१०. यो अभियान कहिले र कहाँ हुँदैछ?यो खोप अभियान २०८० साल फाल्गुण १३ गते देखि चैत्र ७ गतेभित्र सञ्चालन हुँदैछ। तर गाउँ÷टोल अनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुन्छ। अभियानमा यो खोप नियमित खोप केन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र एवम् स्वास्थ्य संस्थाबाट प्रदान गरिन्छ। साथै २४ जिल्लाहरूमा विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर खोप केन्द्र सञ्चालन गरिन्छ। खोप केन्द्र सञ्चालन हुने स्थान र मितिवारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकलाई सोधेर अथवा स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर थाहा पाउन सकिन्छ।

११. यस अभियानमा यो खोप कुन उमेरका बालबालिकालाई लगाइँदै छ?यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप लगाइन्छ भने बाँकी जिल्लाहरूमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई यो खोप लगाइन्छ।

१२. किन त जिल्ला अनुसार फरक फरक उमेरका बालबालिकालाई यो खोप दिन लागिएको हो?

गत एक वर्षको अवधिमा नेपालको विभिन्न ठाउँमा फैलिएको दादुरा रोगको महामारीमा देखिएका दादुराका विरामीको उमेर विश्लेषण गर्दा तराई र काठमाडौं उपत्यकाका जिल्लाहरूमा धेरैजसो १५ वर्षसम्मका बालबालिकामा दादुरा देखिएको थियो। त्यसैले ती जिल्लाहरूका १५ वर्ष मुनिका बालबालिका यो रोगबाट बढी जोखिममा रहेको देखिएको हुँदा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिने नीति लिइएको हो भने बाँकी जिल्लाहरूमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइनेछ।

१३. यो खोप लगाएपछि कुनै असर त हुँदैन?नेपालमा विगत ३५ वर्ष देखि दादुरा खोप र ११ वर्ष देखि दादुरा–रुबेला खोप नियमित खोप मार्फत १५ महिनासम्मका बालबालिकालाई दिईंदै आएको छ र हालसम्म कुनै पनि व्यक्तिमा गम्भिर प्रकारको असर देखिएको छैन। तर यो खोप लगाएको केही समयपछि कुनै कुनै व्यक्तिमा हल्का ज्वरो आउने, शरीरमा दादुराको जस्तै विमिराहरू आउने जस्ता सामान्य असरहरू देखिन सक्छन्। यस प्रकारका असरहरू केही दिनपछि आफै ठीक हुन्छन्।

१४. यो खोप लगाउन कस्तो अवस्थामा सावधानी अपनाउने?हो, पहिला दादुरा–रुबेला खोप लगाउँदा गम्भिर प्रकारको कुनै एलर्जी (एनाफाइलाक्सीस्) देखिएको थियो भने स्वास्थ्यकर्मीको परामर्श लिनु पर्दछ। त्यस्तै एड्सका लक्षणहरू देखा परेको भएमा, रोग प्रतिरोधात्मक शक्ति कम गराउने अवस्था भएमा, सिकिस्त विरामी भएको बेलामा, उपचार शुरु नगरेका क्षयरोगको विरामी र गर्भवती महिलाले यो खोप लगाउनु हुँदैन। यी अवस्थाहरू निको भएपश्चात खोप लिन सकिन्छ।

१५. नियमित खोप लगाउन छुटेका बच्चाले छुट खोप लगाउन के गर्नुपर्छ?५ वर्ष मुनिका बालबालिकाहरूको नियमित खोप छुट भएको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्र मार्फत खोप लगाउन पाइन्छ। तर नियमित खोप तालिका अनुसार लगाएमा खोपको प्रभावकारिता उच्च हुन्छ।

१६. यस अभियानमा कुन कुन छुट नियमित खोप लगाइन्छ त?यस पटक सञ्चालन गरिने दादुरा–रुबेला खोप अभियानमा ५ वर्षमुनिका बालबालिकालाई डि.पि.टी.–हेप बी–हिव (भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, न्यूमोनिया, मेनिनजाईटिस, हेपाटाईटिस बी जस्ता रोगबाट बचाउने खोप), पि.सि.भी. (न्यूमोनियाबाट बचाउने खोप) र आई.पि.भी. (पोलियोबाट बचाउने खोप) को छुट मात्रा अभियानको दिनमा नै लगाइन्छ।

१७. एकै दिन एक भन्दा बढी खोपहरू लगाउन हुन्छ र?हुन्छ। नियमित खोप सेवा लिने बेलामा पनि एकै दिन एकभन्दा बढी खोपहरू लगाइन्छ। यसबाट बालबालिकालाई कुनै असर हुँदैन।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *