आइतबारदेखि नयाँ मौसमी प्रणाली भित्रँदै

Share

झापा/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ ।

शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था रहने छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज र भोलि बुधबार र बिहीबारको तुलनामा मौसममा केही सुधार हुनेछ । यद्यपि, आइतबारबाट पुनः नेपालमा नयाँ प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना बढ्ने मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार आइतबारदेखि पश्चिमी वायु पुनः सक्रिय भएर स्ट्रङ हुँदा देशका धेरै स्थानमा बदली, वर्षा र हिमपात हुनेछ । पश्चिमी वायु सक्रिय भएर स्ट्रङ हुँदा वर्षा हुन्छ ।

ताजा समाचार