झापा/झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने भएको हो ।झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा एक लाख विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो ।
कोशी प्रदेशका १४ वटै जिल्लाबाट विद्यार्थीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । “दैनिक ३३ हजार विद्यार्थी सहभागी हुने अनुमान छ”, उहाँले भन्नुभयो, “कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरेका छौं ।”प्रदर्शनीमा एसईईदेखि कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता रहने जनाइएको छ । कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने हुनेछन् ।
विज्ञान प्रदर्शनीमा पाँच सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथोले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् भने अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीको विज्ञान तथा प्रविधि विभागले पहिलो पटक यस प्रकारको काम गर्न लागेको बताउनुभयो ।उहाँले पार्टीका सबै विभागलाई चलायमान बनाउन पनि कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
“आजको विज्ञान प्रविधिको युगमा आईटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कोशी प्रदेशलाई समृद्ध बनाउनुका साथै विश्वमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न जरुरी छ ।”
कार्यक्रमको आयोजना एमालेले गरे पनि कार्यक्रम विचार केन्द्रित नभई सबैको साझा कार्यक्रमका रुपमा आएको विभाग प्रमुख पोखरेलको भनाई छ । सबैको सहकार्य र समन्वयमा कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा ईञ्चार्ज रोमनाथ ओली, झापा अध्यक्ष प्रेम गिरी, विभागका सदस्य डा। तुलसीप्रसाद निरौला, लक्ष्मीप्रसाद बांस्कोटा, शेखर कँडेल, खड्गमाया पराजुली,प्रमुख सल्लाहकार माधव विद्रोही, कोशी प्रदेश सदस्य रोजीना पाण्डे, नेकपा एमाले झापा उपाध्यक्ष शिव ढुङ्गेल, बाह्रदशी अध्यक्ष अनिल सापकोटा, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो ।विभाग प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विभागका सचिव आर्जन वाग्लेले गर्नुभएको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



