झापा/ त्रिभुवन बिश्वबिद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् ।चुनावकै विषयलाई लिएर विद्यार्थीबिच उत्पन्न विवादले केही क्याम्पसमा तालाबन्दी भएको छ तर अधिकांश क्याम्पसमा निर्वाचन कार्यतालिका अनुरूप गतिविधि अघि बढिरहेको छ ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धनप्राप्त एक हजारभन्दा बढी क्याम्पसमा चुनाव हुँदै छ । एकातिर विद्यार्थी सङ्गठनको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ आफैँमा नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा विद्यार्थी सङ्गठनले यस निर्वाचनलाई प्रयोग गर्न खोजेका छन्
निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जटिलता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।
प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि एकै पटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशैभरि केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला १२ वटा आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक र एक हजार ६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।
झापा जिल्लाका १३ वटा क्याम्पसमा निर्वाचन हुन लागेको छ । ती क्याम्पसहरुमा ३३२ जना उम्मेद्वार प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् । झापामा १३ हजार ३१९ जना विद्यार्थीहरुले स्ववियू निर्वाचनमा भाग लिने भएका छन् ।