प्रदेश चौतारी कोशीको दोस्रो अधिवेशन माघ ३० गते बिराटनगरमा हुने

ताजा समाचार राजनीति

झापा /प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश अधिवेशन माघ ३० गते बुधबार विराटनगरमा हुने भएको छ ।

चौतारी प्रदेश कमिटीका अध्यक्ष अविजाल बिष्टको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको हो ।

बैठकले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अध्यक्ष बिष्टको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, उपाध्यक्ष सुमन पुरीको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति, सचिवालय सदस्य हिमाल दाहालको संयोजकत्वमा सम्मान उपसमिति र कोषाध्यक्ष युवराज विवशको संयोजकत्वमा लेवी संकलन उपसमिति निर्माण गर्ने निर्णय गरेको प्रदेश कमिटीका महासचिव बाबुराम भण्डारीले जानकारी दिए ।

बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला इन्चार्जहरूलाई आवश्यक समन्वयका लागि जिम्मेवारी तोक्ने निर्णय गरेको जनाइएको छ ।

सचिवालय बैठकले नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटी र सम्पूर्ण जिल्लामा प्रेस चौतारीको तर्फबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद सदस्य, निर्वाचनमा खटिने चौतारीको नेतृत्व लगायतलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशनको अवसरमा कोशी प्रदेशका १४ वटै जिल्लामा प्रेस चौतारीका संस्थापक अध्यक्षहरू, नेपाल पत्रकार महासंघमा पहिलो पटक निर्वाचित पदाधिकारीहरू र चौतारीमा प्रदेशको भूगोलबाट केन्द्रीय समितिमा निर्वाचित हुने पदाधिकारीहरूलाई सम्मान गर्ने निर्णय गरेको महासचिव भण्डारीले बताए ।

त्यसैगरी कोशी प्रदेशको राजधानी एवं ऐतिहासिक सहर विराटनगरमा आगामी फागुन २५ देखि २७ गतेसम्म १० औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने चौतारी केन्द्रीय कमिटीको निर्णयलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । उक्त महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न प्रदेश कमिटी पूर्णरुपमा परिचालन हुने निर्णय गरेको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा एमाले कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्षुमन तिवारी, प्रदेश चौतारी नेपालका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चार्ज विक्रम लुईंटेल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लिलाराज भट्टराई, प्रेस चौतारी केन्द्रीय सदस्य कमल रिमाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरत खड्का लगायतको उपस्थिति रहेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *