शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा

Share

झापा/ परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ ।

अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ ।

शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगरउपप्रमुख नरमाया कार्कीले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र परम्परागत धान संरक्षणमा सहयोग गरिरहेको बताउनुभयो ।

कञ्चन जैविक विविधता संरक्षण समितिले धान मात्र नभई हिउँदे बालीको पनि बीउ उत्पादन गरी संरक्षण गर्दै आएको छ । जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेको छ ।

ताजा समाचार