झापा ।झापाको शताक्षीधाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको धाराको आज बिहीबार मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो ।
धाराको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी सरकारले पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । २०८२ साललाई कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले यस्ता धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका क्षेत्रहरूको चयन गरेर कार्यक्रम ल्याउने जानकारी दिनुभयो । उहाँले कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी भएर आफ्ना नजिकका पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउन आग्रह गर्नुभयो।
शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार सतासी धारामा स्नान गरेपछि दिगम्बेश्वर महादेवको मन्दिर र शाकम्बरी शताक्षी देवीको मन्दिरमा पूजा अर्चना गर्न सकिनेछ। मुख्यमन्त्री कार्कीले ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै धाराको उद्घाटन गर्नुभएको हो ।
पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो। शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने धार्मिक गुरुले बताए। सताक्षी धाममा निर्माण भएको ८७ धारामा दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको शताक्षी गंगाको पानी ल्याएर जडान गरिएको छ।
तर यो धारालाई मुक्तिनाथमा भएका १०८ धारा पछिको दोस्रो मुक्तिनाथको धारा भएको गौ संरक्षक घनश्याम शास्त्रीले बताउनुभयो । चारैतिर चुरे पहाडले घेरेको नदीको पछिल्ला समयमा शताक्षी धाम क्षेत्र मा स्थायी पूर्वाधारहरू निर्माण भइरहेका छन्। आज मुख्यमन्त्री हिक्मत कार्कीले धाम क्षेत्रमा अतिथि गृहको पनि शिलान्यास गर्नुभएको छ ।
गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।