झापा ।सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेसँगै शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
Share