विराटनगरमा विद्यार्थीले जलाए योजना आयोगको गाडी

Share

विराटनगर ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन्।

विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आइतवार आगजनी गरेका हुन्।

मोरङको रंगेली नगरपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाउँदै आन्दोलित विद्यार्थीहरूको समूहले आज विहान आयोगको स्कारपियोमा आगजनी गरेका हुन्। दमकलको सहयोगले आगो नियन्त्रणमा लिए पनि आगोले जलेर गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

चालक र आयोगका उपाध्यक्ष डा। राजेन्द्र अधिकारी सवार गाडी रोकेर विद्यार्थीहरुले आगो लगाएका थिए। नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले गत बिहीवार ६ जना विद्यार्थी पक्राउ गरेको थियो।

उनीहरूको रिहाईको माग राख्दै आन्दोलित बनेका उनीहरूले आज एउटा स्कारपियोमा आगजनी गरेका हुन्। अरू ५ वटा गाडीमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। गाडी आगजनी गर्ने समूहको खोजी भइरहेको उनले बताए।

निजी विद्यालयले आफूखुशी कानूनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै विद्यार्थीहरूले जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।

मेयर दिलिपकुमार अग्रवाल र उपमेयर भुमा पराजुली नै नगरपालिकाभन्दा बाहिर छन्। कार्यवाहकको जिम्मेवारी पाएका ८ नम्बरका वडाध्यक्षसँग कुरा नमिलेपछि थप आक्रोशित बनेका उनीहरूले नगर प्रहरीमाथि हातपात गरेका थिए।

विद्यार्थीहरुले पक्राउविरुद्ध विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका थिए। पक्राउ परेका विद्यार्थीलाई बिनाशर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन्। रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले चेतावनी दिँदै आएका छन्।

क्याम्पसअगाडि गाडी जलाउनुअघि विद्यार्थीहरुले विराटनगर–१२ पाञ्चालीस्थित कञ्जनजङ्घा पार्टी प्यालेसअगाडि विद्युत प्राधिकरणको गाडीमा समेत तोडफोड र आगजनीको प्रयास गरेका थिए।

विद्यार्थीको ढुङ्गामुढाबाट प्राधिकरणको बा १ १८८७, बा १ ख ८१८० र बा प्रदेश १ ००१ २७०१’ नम्बरका ३ वटा गाडीमा क्षति पुगेको छ।

पक्राउ पर्ने विद्यार्थीहरु भने रंगेली–६ का २३ वर्षीय दीपक यादव, वर्ष २० का राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्। थाहाखबरबाट

ताजा समाचार