भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज,सार्वजनिक स्थलमा सुरक्षाकर्मीको संख्या बढार्इयो

Share


काठमाडौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुँदै छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ ।

भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई बोलाएको छ । बंगलादेशकी प्रधानमन्त्री हसिना शनिबारै दिल्ली आइपुगेकी छिन् । मोरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहम्मद अफिफ पनि शपथग्रहणमा सहभागी हुनेछन् । सेसेल्सका उपराष्ट्रपति अफिफ पनि शनिबारै दिल्ली आइपुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा कानुनमन्त्री पदम गिरीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल एयरलाइन्सको उडानबाट दिल्ली पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न काठमाडौं फर्किनुअघि भारतीय उद्योगी व्यवसायीको समूहसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी हुने क्रममा बंगलादेश, भुटान, श्रीलंकाका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड तथा चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देशम पार्टीसहित राष्ट्रिय जनतान्त्रिक गठबन्धन ९एनडिए०ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । कुल ५४३ सदस्य संख्या रहेको भारतीय लोकसभामा एनडिएले २९२ सिट जितेको छ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार मोदीलाई प्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तारका लागि स्वीकृति दिएकी थिइन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आइतबार साँझ सवा ७ बजे राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहलाई शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहण समारोहमा विदेशीसहित आठ हजार पाहुनालाई आमन्त्रित गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

मोदी पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा २०१४ मा सार्क सदस्य मुलुकका नेता तथा मोरिससका प्रधानमन्त्री आमन्त्रित थिए । २०१९ मा मोदीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा बिमस्टेक मुलुकका सदस्य र मोरिससका प्रधानमन्त्री आमन्त्रित थिए । पहिलोपटक मोदीले शपथ लिँदा नेपालबाट प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए । दोस्रोपटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।

मोदी तेस्रो कार्यकालका लागि लगातार प्रधानमन्त्री हुने दोस्रो भारतीय नेता हुन् । यसअघि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले लगातार तेस्रो कार्यकाल सरकार सञ्चालन गरेका थिए । नेहरू १५ अगस्ट १९४७ देखि २७ मे १९६४ सम्म १६ वर्ष २८६ दिन भारतका प्रधानमन्त्री थिए ।

शपथग्रहण समारोहको पूर्वसन्ध्यामा भारतको राजधानी नयाँदिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपतिभवनवरपर तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र सार्वजनिक स्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

ताजा समाचार