सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

ताजा समाचार मुख्य समाचार समाज

झापा,२६ बैसाख
सरकारले उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन नपाएको तथ्य सार्वजनिक भएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०८० मा सरकारले गत साउन १ गतेदेखि लागु गरेको १७ हजार तीन सय न्यूनतम पारिश्रमिक २१.७ प्रतिशत उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन भएको छैन ।

सो प्रतिवेदनका अनुसार यस पटक उत्पादनमूलक उद्योग÷प्रतिष्ठान जुट गार्मेन्ट टेक्सटायल, होटल, ट्रेकिङ, सहकारी, सरकारी स्वामित्वका प्रतिष्ठान, अस्पताल र श्रमिक आपूर्ति कम्पनी गरी १५७ प्रतिष्ठानमा श्रम ऐन कार्यान्वयन नभएको पाइएको हो ।
प्रतिवेदनमा २०७९ सालको तुलनामा २०८० मा उद्योग÷प्रतिष्ठानमा सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक नपाउने श्रमिकको सङ्ख्या बढेको उल्लेख छ । २०७९ मा उद्योग÷प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक नपाउने श्रमिकको सङ्ख्या १५.३० प्रतिशत रहेकोमा हाल बढेर २१.७ प्रतिशत पुगेको उल्लेख छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो पटक उत्पादनमूलक र सेवामूलक उद्योग प्रतिष्ठानमा काम गर्ने ठुलो सङ्ख्यामा श्रमिक सरकारले गत साउन १ गतेदेखि लागु हुने गरी तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताउनुभयो । माथिको तथ्याङ्कले पनि उत्पादनमूलक उद्योग÷ प्रतिष्ठानमा श्रम शोषण विकराल अवस्थातर्फ रहेको स्पष्ट हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

श्रम ऐनविपरित श्रम शोषण गर्ने उद्योग÷प्रतिष्ठानको अनुगमन तथा नियमन गरेर कारबाही गर्ने जिम्मेवार निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग हो ।

विभागका निर्देशक मोनीनाथ गोपेले गत साउन १ गतेदेखि लागु हुने गरी सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने कार्य श्रम ऐन २०७४ विपरीत भएको बताउनुभयो । उहाँले पछिल्लो पटक केही साना तथा मझौला खालका उद्योग÷प्रतिष्ठानमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको भनिए पनि उजुरी अहिलेसम्म नआएको कारबाही नभएको जानकारी दिनुभयो । असाध्यै सीमित स्रोतसाधन र जनशक्तिबाट उद्योग तथा प्रतिष्ठान निरीक्षण गर्न सम्भव नभएको र अहिलेसम्म त्यस विषयमा उजुरी नआएको उहाँको भनाइ छ ।

सन् २०१८ को श्रम सर्वेक्षण अनुसार नेपालमा साढे नौ लाख उद्योग प्रतिष्ठान छन् । विभागका अनुसार श्रम कार्यालयमा उपलब्ध दुई÷तीन जना जनशक्तिबाट त्यति धेरै सङ्ख्या उद्योग÷प्रतिष्ठानमा पुगेर अनुगमन गर्न सम्भव नभएको र उजुरी पुर्खनुपर्ने अवस्था रहेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *