झापा-भट्टराई कुल वंश प्रतिष्ठानको महाधिवेशनमा नेतृत्वको विवादले चर्को रूप लिएको छ । महाधिवेशनका क्रममा मञ्चमै भट्टराई बन्धुहरुबीच हात हालाहाल भयो ।
प्रतिष्ठानको महाधिवेशन गत शुक्रवार र शनिवार चितवनस्थित देवघाटमा आयोजना भएको थियो । महाधिवेशनबाट यसअघिका अध्यक्ष दमकका शेरबहादुर भट्टराईले आफ्नो कार्यकाल दोहोर्याउन चाहेका थिए । उनलाई चुनौती दिँदै सुनसरीका दिनेशप्रसाद भट्टराईले पनि अध्यक्षमा दाबी गरेका थिए ।अहिले उपाध्यक्ष घोषित भएका चितवनका राष्ट्रिय उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार १ सय ७० सदस्यीय कार्यसमितिमा बस्न इच्छुकहरुबीच लिखित उम्मेदवारी र सहमतिमा आउने प्रतिबद्धता पेश गर्न भनिएको थियो ।अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्षसहित १४ पदाधिकारीसहितका इच्छुक भट्टराई बन्धुहरूले लिखित आकांक्षा व्यक्त गरे । उनीहरूका आकांक्षा संकलन गरेर निर्वाचन गराउने जिम्मेवारी युवराज भट्टराईको नेतृत्वमा रहेको निर्वाचनको मण्डलको थियो ।१७ गते निर्वाचन मण्डलले लिखित आकांक्षा लिइसकेपछि नयाँ कार्यसमिति घोषणाअघि सातै प्रदेश संयोजकहरूसँग छलफल गरी सर्वसम्मत गराउने तयारी गरेको थियो । उक्त समिति घोषणाअघि छलफल हुँदाहुँदै निर्वाचन मण्डलले शेरबहादुरकै नेतृत्वमा तीन वर्षको कार्यसमिति प्रस्ताव गर्यो । त्यसपछि सुनसरीका दिनेशप्रसाद भट्टराई र दमकका दुर्गा भट्टराईलगायतले भौतिक प्रतिवाद गरे ।
देवघाटको हरिकीर्तन दैविक धर्मशालाको हलमा भएको छलफलका क्रममा उनीहरू मञ्चमै चढेर निर्वाचन मण्डलका संयोजकको हातमा रहेको कागज थुतेर च्यातचुत पारिदिए । त्यसपछि दुई पक्षबीच हात हालाहाल भएको थियो ।भट्टराई बन्धु समाज चितवनका अध्यक्ष लीलाधर भट्टराईले नेपाल प्रेससँग कुरा गर्दै बागमती प्रदेश सहसचिव अग्नि भट्टराईले कागज आफूले च्यातेको भनेर सार्वजनिक रूपमै स्वीकारेको बताए । ‘विद्रोही’ टोलीले भने नेतृत्व हस्तान्तरणको माग गर्दा लफडा भएको दाबी गरेको छ ।
अन्त्यमा शेरबहादुरलाई नै अध्यक्ष घोषणा गरिएको छ । विद्रोही पक्षले पनि थप विवाद गर्न चाहेनन् । घटनालाई लिएर कतै उजुरबाजुर पनि गरिएको छैन ।भट्टराई बन्धुहरुको महाधिवेशन हरेक तीन-तीन वर्षमा आयोजना हुन्छ । यसअघिको महाधिवेशन पोखरामा भएको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



