झापा । गौरादह नगरपालिका–५ नम्बर वडाका अध्यक्ष जगन्नाथ खनालले सामाजिक सञ्जालमा प्रकाशित भएको भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएका छन्।
२०८३ वैशाख १ गते सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खनालले उक्त सामग्री असत्य, भ्रामक र कपोलकल्पित रहेको बताएका छन्। उनका अनुसार महारानीझोडा साना किसान कृषि सहकारी संस्था सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको आफ्नै विनियमअनुसार सञ्चालनमा रहेको संस्था हो।

खनालले सहकारीको नाममा रहेको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारे। उनले त्यस्तो कार्य प्रचलित कानुनविपरीत हुने उल्लेख गर्दै यसबारे सत्यतथ्य पुष्टि नभएको बताए।
उनले आधारहीन समाचारमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाउँदै यस्ता भ्रामक सामग्री नप्रसारण गर्न आग्रह गरेका छन्। साथै, समाचार तयार पार्ने पक्षलाई प्रमाणसहित उपस्थित हुनसमेत चुनौती दिएका छन्।

