दमक /प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गर्नुभएको हो ।
एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विकासको नमुना भएको बताए । प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो बिजनेस कम्प्लेक्स चार बिगाहा १६ कठ्ठा क्षेत्रफलमा बनेको छ । यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँ तल्लासहित १८ वटा तला रहेका छन् । यस परियोजनाको अन्तिम लागत रकम एक अर्ब ६३ करोड ५४ लाख रहेको छ ।
२०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष् र ओम साइराम जेभीले लिएका थिए । कम्प्लेक्सबाहिर बगैँचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाई छ ।
उक्त कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी रहनु भएको थियो ।
![kp oli](https://aarambhanews.com/wp-content/uploads/2024/12/kp-oli-696x464.jpg)
Share