झापा ।चिसो सुरु भएसँगै ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी संक्रमणका बिरामी बढ्न थालेका छन् । चिसोले धेरैजसो बालबालिका र वृद्धवृद्धालाई बढी मात्रामा सताउने गरेको चिकित्सकले बताएका छन् । सावधानी नअपनाउँदा चिसोकै कारण कतिपयको ज्यान समेत जाने गरेको छ । चिसोबाट बच्न शरीरको पहिरन र खानपानमा बढी ध्यान दिनुुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।
जाडो मौसम सुरु भएसँगै बिहानबेलुकी चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । चिसो बढेसँगैै शरीरको तापक्रम घट्ने हुँदा कहिलेकाहीँ बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्ने भएकाले समेत विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकहरुको भनाई छ । त्यस्तै, जाडो मौसममा मानिसहरू आराम गर्न र आफ्नो शरीरलाई न्यानो राख्न घरभित्रै बस्न बढी रुचाउने हुँदा शारीरिक गतिविधि कम हुने र आवश्यक व्यायाम पनि नगर्दा शरीर निष्क्रिय भएका कारण समेत विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने उनीहरुको भनाई छ ।
चिसो बढेसँगै विषेशगरी दीर्घ रोगी, वृद्धवृद्धा र बालबालिकाहरुलाई श्वासप्रश्वास सम्बन्धी संक्रमण बढी देखिने गरेको चिकित्सकहरु बताउँछन् ।
जाडोयाममा देखिने मुख्य समस्या मध्ये एक हो, रुघाखोकी । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या बढी देखिने गर्दछ । त्यस्तै मौसमी भाइरसका कारण समेत जाडो मौसममा रुघाखोकीका बिरामी अत्यधिक बढ्ने गरेको चिकित्सकहरु बताउँछन् । जाडो मौसममा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरू बढी सक्रिय हुने हुुँदा रोगप्रतिरोधात्मक क्षमता कम भएका, बालबालिका, तथा वृद्धवृद्धा र चिसोमा काम गर्नेलाई रुघाखोकी लाग्ने सम्भावना धेरै हुने चिकित्सकहरुको भनाई छ । यस्तै जाडो मौसममा सबैभन्दा बढी बाथ रोग, मुटुजन्य रोग, श्वासप्रश्वास र छालामा आउने समस्याले मानिसलाई धेरै सताउने गर्दछ ।
त्यस्तै बालबालिकाको हकमा भने स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्ने जोखिम हुन्छ । तर, बालबालिकामा देखिने कुनै–कुनै स्वास्थ्य समस्यामा भने मौसमी परिर्वतनको प्रभावका कारण समेत देखा पर्ने चिकित्सहरु बताउँछन् ।
जाडो मौसममा सरसफाइ गर्न बालबालिकाले अल्छी गर्ने र अभिभावकलेसमेत बेवास्ता गर्दा बालबालीकामा सरसफाइको कमीले हुनसक्ने रोग र संक्रमणको जोखिम बढ्ने गरेको विज्ञहरुले बताएका छन् । त्यसैले भाइरल संक्रमणबाट बच्न रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने र उनीहरुले प्रयोग गरेको सामान प्रयोग नगर्न चिकित्सकहरुको सुझाएका छन् ।