झापा ।वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।
मन्त्री भट्टराईका अनुसार विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई अर्को दिन परीक्षामा बस्न दिने निर्णय पनि गरिएको छ ।
शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले परीक्षा तथा पढाइ तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । हाल विश्वविद्यालयमा स्नातक तहका विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको छ ।
साथै अधिकांश विद्यालयमा कक्षा १२ सम्मकै विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुँदै छ । साथै आइतबार स्थगित गरिएको विश्वविद्यालय तहका परीक्षा पनि अन्तिम परीक्षा सकिएको दिनको भोलिपल्ट सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार साँझदेखिको झरी र बाढीका कारण उपत्यकासहितका बाहिरका जिल्लाका शैक्षिक संस्था डुबेका छन् । डुबानका कारण भौतिक संरचनामा समेत क्षति पुगेको छ ।