चाडपर्व लक्षित सहुलियत पसल ७ असोजदेखि सञ्चालन हुने

Share

झापा ।। सरकारले चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । ७ असोजदेखि छुट सहित सहुलियत पसल सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए ।

सरकारले बजेटमा सहुलियत पसलका लागि ३ करोड बजेट विनियोजन गरेको छ । चाडपर्वमा बजार मूल्यलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न भन्दै सकराले सहुलयितपूर्ण पसल सञ्चालन गर्दै आएको छ ।

चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान मार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ ।

कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि सबैथरी चामलको मूल्य प्रतिकेजी ५ रुपैयाँ छुट हुनेछ । ‘कम्पनीले हालै गरेको बजार विश्लेषणमा चामलको मूल्य बजारमा भन्दा सस्तो छ । त्यसमा पनि सहुलियत पसल सञ्चालन भएपछि थप ५ रुपैयाँ छुट दिन्छौं,’ कम्पनीका एक अधिकारीले भने, ‘कर्णाली प्रदेश बाहेक दालजन्य वस्तुमा प्रतिकेजी ५ रुपैयाँ छुट दिन्छौं ।’

कर्णालीको रैथाने बालीहरूमा प्रतिकेजी ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ र घिउ पनि प्रतिकेजी ७ रुपैयाँ छुटमा बिक्री हुने कम्पनीले जनाएको छ ।

खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्य भने खरिदपछि मात्रै निर्धारण हुने कम्पनीले जनाएको छ । प्रतिकेजी १० रुपैयाँ छुट सहित खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

‘खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्य बजार मूल्यभन्दा सस्तो नै हुन्छ,’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले भनिन्, ‘च्याङ्ग्रा करिब ३०० र खसी–बोका १ हजार ५०० वटा ल्याउने तयारी छ । बजारमा माग धेरै हुने अवस्था देखिएमा भने संख्या केही बढ्न सक्छ ।’

गत वर्ष बिक्री हुन गाह्रो परेकोले यस वर्ष केही घटाएर ल्याउन लागिएको उनले बताइन् । कम्पनीले गत वर्ष च्याङ्ग्रा ५०० र खसी बोका १ हजार ६०० भन्दा धेरै ल्याएको थियो । च्याङ्ग्रा मुस्ताङबाट र खासी बोका, हेटौंडा र दाङबाट ल्याउने तयारी भएको उनले बतायन् । यस्तै चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने भएको छ ।

देशभरिका ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुन कम्पनीले जनाएको छ । जसमध्ये उपत्यकाका ४ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकामा पालिकाहरूको समन्वय र आउटलेटहरूको सहजीकरण भएमा सहुलितय पसल थप गर्न सकिने उनले जानकारी दिइन् । कम्पनीका अनुसार यस्तो सहुलियत पसल फागुपूर्णिमासम्म सञ्चालन हुने छ ।

ताजा समाचार