भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा सरकार अघि बढ्यो -मन्त्री अधिकारी

Share

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा सरकार अघि बढेको बताउनुभएको छ । उहाँले जग्गा भोगचलन गरे पनि धनिपुर्जा नहुनेलाई सरकारले जग्गा मालिक बनाउने अभियानमा रहेको बताउनुभयो । 

झापाको गौरादह ४ र ५ को जग्गा दर्ता समितिको शुभारम्भ कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासका समस्याहरूलाई समाधान गर्दै लैजाने बताउनुभयो । गौरादहको साविक महारानीझोडाको समस्या समाधानका लागि सरकारले गठन आदेश मार्फत समिति बनाएको र त्यसैले धनिपुर्जा वितरण गर्ने उहाँले बताउनुभयो ।  जग्गाको भोगअधिकार नहुँदा बैङ्किङ सहितको काममा समस्या पर्ने गरेको र त्यसको गाँठो समितिले फुकाउने उहाँले बताउनुभयो । 

कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्टले महारानीझोडाको समस्या धेरै समयदेखि यथावत् रहेकोले सबैको पहल र सहजीकरणमा समितिलाई कार्य गर्न दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले ४८ वर्षदेखि धनिपुर्जा विहीन रहेको महारानीझोडा क्षेत्रको समस्या समाधानका लागि सरकारले समिति गठन गरेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले २०३४ सालको नापीकै आधारमा नक्सा तयार गरि तोकिएकै अवधिमा धनिपुर्जा वितरण गरिने प्रतिबद्धता जनाउनुभयो । यस्तै पूर्व वडा अध्यक्ष मणिन्द्र कार्कीले बिगतमा कयौँ आयोग बने पनि समस्या समाधान हुन नसकेको दुखेसो गर्नुभएको थियो । 

जवाफमा मन्त्री अधिकारीले समितिलाई विगतमा भएको नापी र अहिलेको अवस्थालाई मध्यनजर गर्दै नक्साङकन गर्ने र त्यसकै आधारमा जग्गाधनिपुर्जा वितरण सम्मको अख्तियारी रहेको बताउनुभयो । भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले स्थानीयको सहयोग रहेमा समितिले समयमा काम सम्पन्न गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो । पुरानो नापीका आधारमा ५ हजार ५ सय जग्गाधनीहरू नक्सा सहितको धनिपुर्जाबाट बञ्चित छन् । 

ताजा समाचार