झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

Share


झापा ।
जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो ।
यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उहाँले बताउनुभयो ।।
झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनी ठूलो क्षति पु¥याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।
प्रणालीमा जडित स्वचालित उपकरणले वर्षा सुरु भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तरको बारेमा काठमाडौँ र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने गर्छ । त्यही जानकारीको विश्लेषण गरेर बाढी आउने सम्भावना बारे नदी तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्कताको सन्देश प्रेषण गरिने उहाँले जानकारी दिनुभयो ।
नदीको पानीको वहाब र वर्षाको मात्रा जिल्ला प्रशासन कार्यालय झापामा राखिएको सूचना केन्द्रबाट हेर्न सकिने पोखरेलले बताउनुभयो ।

ताजा समाचार