देउवा र थापाको अडानले आज पनि टुंगो लागेन इलाम २ को कांग्रेस उम्मेदवार

Share

झापा-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच मत बाझिएपछि पार्टीबाट  इलाम क्षेत्र २ को उम्मेदवार बन्ने व्यक्तिको नाम आज (बुधबार) पनि टुंगो लाग्न सकेन ।

संसदीय बोर्ड बैठकमा सभापति देउवाले डम्बरबहादुर खड्काको र महामन्त्री थापाले भेषराज आचार्यको नाम प्रस्ताव गरेपछि बैठक अनिर्णीत भएको हो । बैठकका देउवा र थापा आफ्नो प्रस्तावमा टसमस नभएपछि कांग्रेसले वैशाख १५ मा हुने उपनिर्वाचनको उम्मेदवार अझै छान्न सकेको छैन । 

बैठकमा कुन सहमति नभएपछि अर्को बैठक बिहीबार बिहान ९ बजे बस्नेगरी स्थगित भएको छ ।

सभापति देउवाले २०७९ सालको निर्वाचनमा एक सय १४ मतान्तरले मात्रै पराजित भएका खड्कालाई नै टिकट दिन प्रस्ताव गरेका थिए । ०७९ मा खड्का नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङसँग पराजित बनेका थिए । देउवाले खड्काले उम्मेदवार नबन्ने बताए भनेमात्रै अरूलाई टिकट दिनुपर्ने नभए उनैलाई दिनु न्यायसंगत हुने अड्डी लिएको स्रोतले बतायो । 

महामन्त्री गगन थापाले भने इलाम–२ को पार्टी संरचनामा भेषराज नै लोकप्रिय भएकाले चुनाव जित्न उनैलाई टिकट दिनुपर्ने अडान राखे । 

भोलि बस्ने बैठकमा भने उम्मेदवारका आकांक्षीलाई समेत बोलाइएको छ । 

कांग्रेस जिल्ला समितिले चैत ७ मा भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम सिफारिस गरेको थियो ।

यो क्षेत्रमा नेकपा (एमाले)ले सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बू, नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ र पहिचान पक्षधर दल र समूहले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् । नेकपा (माओवादी केन्द्र)ले एमाले उम्मेदवार नेम्बाङलाई नै सघाउने सहमति भएको छ । 

अरू उम्मेदवार मतदाताको घर–घर पुग्दा कांग्रेस भने अझै उम्मेदवार छनोटमै अल्झिएको हो । 
 

ताजा समाचार