कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

ताजा समाचार

झापा/नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए ।

‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भईरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

बुढाथोकी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए । पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा उदाएका थिए । पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो । त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन् ।

उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल पनि परेका थिए । कुनै समयका पञ्चायत विरोधी उनी कालान्तरमा पञ्चायतका पक्षपाती बन्दै पञ्चायत निकट युवक संगठनको झापा जिल्ला सभापति मात्रै बनेनन्, राष्ट्रिय पञ्चायत सदस्यको रुपमा समेत विजयी भए ।करिब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसंग लडिरहेका थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो ।
पार्टीभित्र आफ्ना विचार स्पष्टसंग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसंगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढाथोकीको निधनले पूर्वी नेपालको राजनीतिमा ठूलो रिक्तता महसुस भएको जनाएका छन् । ‘उहाँ हक्की स्वभावका राजनीतिज्ञ हुनुहुन्थ्यो,’ महामन्त्री शर्माले भने,‘उहाँको निधनले ठूलो क्षति पुगेको छ ।’

उनको मंगलबार कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *