अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ । पर्यटन वर्ष २०८२ अन्तरगत पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आइरहेको कामको विषयमा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छबिलाल खतिवडासँग गरिएको कुराकानी
कोशी पर्यटन वर्ष अन्तर्गत अहिले के कस्ता कामहरु भइरहेका छन् ? –कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरे पश्चात पर्यटन कार्यालय काँकरभिट्टाले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । चेतनामुलक कार्यक्रमका साथै सीपमुलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । अहिले कार्यालयले गर्ने पर्यटन सम्बन्धी नियमित कार्यहरु सँगसगै पर्यटन वर्ष २०८२ अन्तर्गत हाम्रो कार्यक्षेत्र झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका ग्रामीण क्षेत्रसम्म अभियान सञ्चालन भइरहेको छ । जनचेतनाका हिसाबले ग्रामीण तहसम्मका बासिन्दालाई पर्यटन व्यवसायलाई आयआर्जनको बाटो बनाउन सकिन्छ भन्ने कुरा बुझाइरहेका छौँ । नीतिगत विषयहरु बहस, छलफल र अन्र्तक्रियाका माध्यमबाट कामहरु सम्पादन गर्दै आइरहेका छौँ ।
अहिले पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आइरहेको काम के हो ? –पर्यटन कार्यालय काँकरभिट्टाले तीनवटा कार्ययोजना अन्तर्गत काम गरिरहेको छ । पर्यटकलाई कोशी प्रदेशमा आकर्षित गर्न क्रस बोर्डर टुरिजमको काम निरन्तर गरिरहेका छौँ । जनस्तरको सम्बन्धको माध्यमबाट ती कामहरुलाई सम्पादन गरिरहेका छौँ । अर्कोतर्फ हाम्रा तीन तहका सरकारसँग समन्वय गरी पर्यटन मेला, कोशी प्रदेशका विभिन्न क्षेत्र, भारतीय सहरहरुमा सञ्चालन गरिरहेका छौँ । नेपालका सीमासँग जोडिएका भारतीय सहरहरुमा पर्यटनसँग सम्बन्धित कार्यक्रमहरुको आयोजना गरी यहाँका पर्यटन क्षेत्रहरुको प्रचारप्रसार गरिरहेका छौँ । तेस्रो काम चाँहि ग्रामीण तथा सहरी क्षेत्रमा होटल तथा होमस्टेहरुमा पर्यटन वर्ष कसरी सञ्चालन गर्ने र आगामी दिनमा भ्रमण वर्ष घोषणा भइसक्दा हामीले कस्तो तयारी गर्न सक्छौँ भनेर तिनीहरुको अभिलेखीकरण गर्ने काम गरेका छौँ र दर्ता प्रक्रियामा छुटेका व्यवसायहरुलाई कानुनी प्रक्रियामा सहजता ल्याउन सहजीकरण गरिरहेका छौँ । संघीय सरकारले जारी गरेको नयाँ बजेटमा पाँच लाखसम्म विदेशी नागरिकले नेपालमा खर्च गर्न पाउने लगायतका कानुनी व्यवस्था गरेर केही सहज भएको छ । प्रदेश सरकारबाट सवारी साधनमा स्टिकरको प्रबन्ध मिलाएको छ । भारतीय गाडीहरुमा यो स्टीकर टाँस गरेपछि एकठाउँ मात्र चेक जाँच हुन्छ । यो व्यवस्थाले पर्यटकलाई थप सहज महसुस हुन्छ ।
”पर्यटन कार्यालय काँकरभिट्टाले तीनवटा कार्ययोजना अन्तर्गत काम गरिरहेको छ । पर्यटकलाई कोशी प्रदेशमा आकर्षित गर्न क्रस बोर्डर टुरिजमको काम निरन्तर गरिरहेका छौँ ।”
पर्यटकलाई कोशी प्रदेशमा आकर्षित गर्न क्रस बोर्डर टुरिजमको काम निरन्तर गरिरहेका छौँ
कोशी प्रदेशको समग्रमा पर्यटनको अवस्था कस्तो छ ? –कोशी प्रदेशमा हामीले जति पनि पर्यटन सम्बन्धी गतिविधि गरिरहेका छौँ । यो गतिविधिले हामीलाई भ्रमण वर्ष मनाउन थप सहजता प्रदान गरेको छ । व्यवसायमैत्री, पर्यटनमैत्री कानुन तथा नीति निर्माण गर्न मद्धत पुर्याउँछ । हामी कस्ता पर्यटकलाई प्राथमिकता दिने, कसरी पर्यटनका गतिविधि अगाडि बढाउने, पर्यटकीय स्थलहरुलाई सुन्दरीकरण गर्ने, पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने जस्ता कामहरु यो वर्ष सञ्चालन गरिनेछ । कोभिड महामारी पछि पर्यटकको आगमनमा वृद्धि भएको छ । अहिले तत्काल कोभिडका केही संकेत देखिएको भएपनि पर्यटन आवगमन घटेको छैन । गण्डकी, बाग्मती प्रदेशहरुमा धेरै पर्यटकीय क्षेत्रहरु छन् । त्यस प्रदेशमा पर्यटकहरु धेरै पुग्ने गरेका छन् । त्यहाँ आउने पर्यटकलाई हाम्रो प्रदेशमा ल्याउन कोसिस गरिएको छ । कोशी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा कमि भएका कारण पर्यटनको नजर कम पर्न गएको छ । तर, यो पर्यटन वर्षले पर्यटकलाई कोशी प्रदेशमा तान्नेछ । हामीसँग विश्वकै अग्लो हिमाल सगरमाथा लगायत धेरै हिमालहरु छन् । धार्मिक रुपमा पाथीभरा, हलेसी, रामधुनी जस्ता धार्मिक स्थलहरु छन् । प्रचार गर्ने शैलीमा सुधार गर्न आवश्यक छ ।
कोशी प्रदेशको पर्यटन नीति कस्तो हुनुपर्छ ? –व्यावसायिक हिसाबले पर्यटकहरुलाई आकर्षक गर्नका लागि व्यवसायमैत्री कानुनको आवश्यक पर्छ । अहिले विभिन्न कठिनाइहरु रहेका छन् । यसलाई सरलीकृत गर्नुपर्छ । अहिले पर्यटक स्तरका होटलहरु कोशी प्रदेशमा अत्यन्तै न्युन मात्रामा दर्ता भएका छन् । यद्यपि तारे होटलहरु खोल्ने क्रम बढेको छ । पर्यटक होटल सचालनका लागि लगानी गर्न इच्छुक गर्न देखिए पनि हाम्रा नीति तथा कानुनहरुको प्रक्रिया झन्झटिलो छ । पछिल्लो समय वातावरणीय प्रभाव मुल्याङकन (EIA) गर्नुपर्ने त्यसबाट धेरै समय लाग्ने र मन्त्रालयमै पुग्नुपर्ने अवस्थाबाट केही कानुन संशोधन भएर सम्बन्धित पर्यटन कार्यालयबाट आवेदन सुरु गरेर समितिले छानबिन गरेर मन्त्रालय पुगिसकेपछि कम्तीमा एक महिना सकिने गरी केही सुरुवात गरिएको छ । अर्को चाँहि राजस्व विषय तीन लाख रुपैयाँ धरौटी राख्नुपर्ने विषयलाई हटाएर शुन्य बनाउनेतर्फ बहस छलफल भइरहेको छ । यो कार्यान्वयनको चरणमा रहेको छ । त्यसैगरी, हामीले पर्यटनमैत्री हिसाबले कसरी जान सक्छौँ । नीति, कानुन र कार्यविधि बनाएर स्वदेशी वा विदेशी लगानीकर्तालाई भित्र्याउने वातावरण बनाउनुपर्छ । पर्यटन व्यवसायमैत्री, लगानीकर्ता मैत्री हुनुपर्छ जस्तो लाग्छ ।
”त्यहाँ जनस्तरमा हाम्रो सम्बन्ध कायम गर्दै धेरै कामहरु गरेका छौँ । त्यहाँ रहेका पर्यटकीय संघसंस्थाहरु सँग यताका पर्यटकीय संघसंस्थाहरुसँग दैत्य सम्बन्ध कायम गर्ने कामहरु ग्रिरहेका छौँ ।”
खासगरी हामीले चाँहि पश्चिम बंगाल र विहारको सीमासँग जोडिएको हाम्रो प्रदेश सिक्किम दार्जिलिङ लगायत पर्यटकीय भुभागसँग हाम्रो निकटता छ ।
सीमा पार पर्यटनमा के कस्ता कामहरु भइरहेका छन् ? –खासगरी हामीले चाँहि पश्चिम बंगाल र विहारको सीमासँग जोडिएको हाम्रो प्रदेश सिक्किम दार्जिलिङ लगायत पर्यटकीय भुभागसँग हाम्रो निकटता छ । ती क्षेत्रहरुमा हुने मेला, महोत्सव, समारोह, गोष्ठी, अन्र्तक्रिया कार्यक्रममा हाम्रो प्रस्तुति लिएर गइरहेका छौँ । ठुलो मात्रामा कलकत्तासम्म हामी सहभागी भएका छौँ । त्यहाँ जनस्तरमा हाम्रो सम्बन्ध कायम गर्दै धेरै कामहरु गरेका छौँ । त्यहाँ रहेका पर्यटकीय संघसंस्थाहरु सँग यताका पर्यटकीय संघसंस्थाहरुसँग दैत्य सम्बन्ध कायम गर्ने कामहरु ग्रिरहेका छौँ । केहीदिन अघि इलामको तुम्लिङमा पर्यटन मेलाको आयोजना गरिएको थियो, जहाँ पश्चिम बंगालका धेरै व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेपाल तर्फबाट पनि धेरै जिम्मेवार व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । यो समारोहले क्रस बोर्डर पर्यटनमा थप टेवा पुगेको छ ।
भारतीय पर्यटकहरुको तथ्यांक कसरी राख्ने गर्नुभएको छ ? –स्थल मार्गबाट आउने पर्यटकहरुको तथ्यांक राख्ने गरिएको छ । सीमा नाकाहरुमा पर्यटन सूचना केन्द्रहरुको स्थापना गरिएको छ । भाण्टाबारी नाका, जोगबनी नाका, काँकरभिट्टा नाका, पशुपतिनगरमा सुचना केन्द्रको स्थापना गरी भारतीय पर्यटकको तथ्यांक राख्ने काम भइरहेको छ । अहिले सीमा नाकामा भएका पर्यटक प्रहरीमार्फत तथ्यांक राखिएको छ । पर्यटकको तथ्यांक अध्यागमन कार्यालयसँग पनि समन्वय गरी राख्ने गरिएको छ । स्थानीय सरकारले पनि सूचना केन्द्रको स्थापना गर्ने काम गरिरहेको छ । यी सबैसँग समन्वय गरी तथ्यांक अध्यावधि गर्न हामी लागि रहेका छौँ ।
”स्थानीय सरकारले पनि सूचना केन्द्रको स्थापना गर्ने काम गरिरहेको छ । यी सबैसँग समन्वय गरी तथ्यांक अध्यावधि गर्न हामी लागि रहेका छौँ । ”
स्थानीय सरकारले पनि सूचना केन्द्रको स्थापना गर्ने काम गरिरहेको छ ।
भारतीय पर्यटकहरुले अनावश्यक दुःख पाइरहेको गुनासो छ नि ? –यी कुराहरु उठिरहेका छन् । भारतीय पर्यटकहरुले नेपालमा आएर भ्रमण गर्दा खेरी दुःख पाएका कुराहरु सुनिने गरेका छन् । यसै साता काँकरभिट्टामा यातायात व्यवसायी महासंघसँग समन्वयन गरी कार्यक्रम आयोजना गरी पर्यटन वर्षको स्टिकर सवारी साधनमा टाँस गर्ने अभियान अन्तर्गत भारतीय पर्यटकलाई समन्वयनकारी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ । अव्यवस्थित पार्किङ सवारी साधनबाट ठगिने पर्यटक प्रहरीले समयमै सेवा दिन नसकेको नाकामा झन्झटिलो चेकिङ प्रक्रिया लगायतका विषयमा गुनासो आइरहेका छन् । यी कुराहरुको समाधान गर्न हामी लागि रहेका छौँ । काँकरभिट्टा नाका तीन देशका पर्यटकहरु आगमन गर्ने नाका भएकाले पर्यटन मैत्री नाका बनाउन हामी लागि परेका छौँ ।
अन्त्यमा
पर्यटक वर्ष २०८२ अन्तर्गत हामी आर्थिक वर्षको अन्त्यमा छौँ । पर्यटक कार्यलयमा जनशक्ति कम छ । थोरै जनशक्तिका बाबजुत पनि कार्यक्रमहरु अगाडि बढाइरहेका छौँ । सबै संघसंसथाहरुको सहकार्यमा कार्यक्रमहरु सम्पादन गर्दै आइरहेका छौँ । बाँकी रहेका केही कामहरु आउँदो आर्थिक वर्षमा निरन्तरता दिइनेछ । पर्यटन २०८२ लाई सफल बनाउन हामी लागि परेका छौँ ।