विद्यालयमै स्वास्थ्य सेवा: विद्यार्थीका साथी बने विद्यालय नर्स

Share

राजु पोख्रेल, झापा
‘हामीलाई केही भयो भने अब डर लाग्दैन, नर्स दिदीले सबै बुझ्नुहुन्छ,’ — यो भनाइ झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा एरिका यादवको हो। कहिल्यै महिनावारीका कुरा गर्न नचाहने उनी अब खुलेर नर्स प्रतिमा श्रेष्ठसँग आफ्ना समस्या साझा गर्छिन्। यादवको अनुभव, आज लाखौँ नेपाली किशोरीहरूको प्रतिनिधित्व गर्छ। विद्यालयमा नर्सको उपस्थिति अब शिक्षण संस्थामा मात्र सीमित छैन—यो सेवा, संवेदना र सुरक्षित संवादको माध्यम बनेको छ।

प्रतिमा श्रेष्ठको व्यस्त दिनचर्या

गौरादह–२ निवासी प्रतिमा श्रेष्ठ विगत ६ वर्षदेखि जनता माध्यमिक विद्यालयमा नर्सको रूपमा कार्यरत छिन्। उनी हरेक दिन बिहान १० बज्नुअघि नै विद्यालय पुग्छिन् र बेलुकी ४ बजेसम्म बालबालिकाको सेवा र सहजीकरणमा व्यस्त रहन्छिन्। विद्यालयमा उनी स्वास्थ्य शिक्षा दिन्छिन्, स्यानिटरी प्याड वितरण र डिस्पोजका लागि सुविधा मिलाउँछिन्, पोषणसम्बन्धी सुझाव दिन्छिन्। अझ सरसफाइको नेतृत्व पनि उनकै जिम्मेवारीमा परेको छ। स्कुलमा अस्वस्थकर खाना निषेध गराउनु, बालबालिकालाई यस्तो खानाले हुने हानि सम्झाउनु—उनको दैनिकीको हिस्सा बनिसकेको छ।

दमककी लिलामाया विक: उपचार, परामर्श र सहारा

झापाकै दमकमा रहेको हिमालय माध्यमिक विद्यालयमा कार्यरत लिलामाया विकको दिनचर्या झनै व्यस्त हुन्छ। ३५ सय विद्यार्थी भएको यो विद्यालयमा उनी दैनिक २५ देखि ३० जना विद्यार्थीका स्वास्थ्य समस्या सुन्छिन्। केहीलाई सामान्य परामर्श दिँदा पुग्छ, केहीलाई प्राथमिक उपचार गर्नुपर्छ, र कतिपयलाई भने अस्पताल रिफर गर्नुपर्ने अवस्था आउँछ। ‘सामान्य चोटपटक, टाउको दुख्ने, रिङ्गटा लाग्ने, वा भावनात्मक समस्या—सबै प्रकारका चुनौती आउँछन्,’ विक भन्छिन्।

उनले विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य, पोषण, व्यक्तिगत सरसफाइ र सम्वेदनशील विषयमा समेत विद्यार्थीलाई सहज र गोप्य परामर्श दिइरहेकी छन्। ‘नर्स भएपछि केयर गिभर पनि बन्नुपर्छ,’ उनी भन्छिन्।

विद्यालयका ‘हेल्थ मोनिटर’: नेतृत्व सिक्दै बालबालिका

कमल गाउँपालिका–५ को मंगलमय माध्यमिक विद्यालयमा कक्षा ८ की आरोही गौतम ‘हेल्थ मोनिटर’को भूमिकामा छन्। विद्यालय नर्स मुना अधिकारीको निर्देशनमा उनी र उनको समूह बिहानैदेखि नर्सिङ कक्ष सफा राख्न, बेड मिलाउन, चोटपटक लागेका साथीलाई प्राथमिक उपचारमा सहयोग गर्न तत्पर हुन्छन्। ५ जनाको यो समूहले विद्यालयमा नेतृत्व र जिम्मेवारीको अभ्यास गरिरहेका छन्। डिटोल, ह्याण्डिप्लास्ट, रक्तचाप मापन, ज्वरो परीक्षणलगायतका कार्य उनीहरू सहज रूपमा गर्छन्। नर्स मुना अधिकारी भन्छिन्, ‘बालबालिका आफैं स्वास्थ्य सेवाको सहयोगी बन्दै जानु उनीहरूको सामाजिक र नैतिक विकासका लागि महत्त्वपूर्ण अभ्यास हो।’

नर्स कार्यक्रमको असर: ‘स्कुलचौन’को उदाहरण

गौरादह नगरपालिका अन्तर्गत स्कुलचौन माविमा यस वर्षदेखि नर्स कार्यक्रम लागू गरिएको हो। विद्यालयका प्रअ गुरुदेव भण्डारीका अनुसार, ‘पहिले दैनिक ७–८ जना विद्यार्थी बेहोस हुन्थे, स्वास्थ्य चौकी लैजानुपर्थ्यो। अब विद्यालयमै उपचार हुन्छ।’ विद्यालयमा १,१६० विद्यार्थी छन्। नर्स कार्यक्रम लागू भएदेखि विद्यार्थीको स्वास्थ्य अवस्था मात्र होइन, समुदायमा पोषण र सरसफाइबारे पनि चेतना फैलिएको उनले बताए।

कार्यक्रमको शुरुवात: प्रदेशबाट राष्ट्रव्यापी बन्यो योजना

विद्यालय नर्सिङ कार्यक्रम कोशी प्रदेश सरकारले २०७५ सालदेखि सामाजिक विकास मन्त्रालयमार्फत शुरू गरेको हो। सुरुमा १४ विद्यालयमा १४ जना नर्स नियुक्त गरेर कार्यक्रमको थालनी गरिएको थियो। अहिले यो कार्यक्रम देशव्यापी फैलिएको छ। यसको उद्देश्य किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार, पोषण, सरसफाइ र मानसिक स्वास्थ्य प्रवर्द्धन हो। संघीय सरकारले पनि ‘एक विद्यालय, एक नर्स’ योजना बनाएर निर्देशिका जारी गरिसकेको छ। हाल कोशी प्रदेशमा १६० सामुदायिक विद्यालयमा नर्स कार्यक्रम लागू गरिएको छ। झापामा २७, मोरङ १९, सुनसरी १५, ताप्लेजुङ १५, इलाम १०, ओखलढुंगा १२, भोजपुर ९ लगायत सबै १४ जिल्लामा कार्यक्रम पुगेको छ।

प्रभाव र योगदान: शिक्षामा स्वास्थ्यको समावेशीता

विद्यालय नर्सहरूले विद्यार्थीलाई प्राथमिक उपचार, औषधि वितरण, स्वास्थ्य शिक्षा मात्र होइन, महिनावारीको सरसफाइ, स्यानिटरी प्याड वितरण, आयरन/फोलिक एसिड, खोप अभियान, आँखाको शिविर लगायतका सेवाहरू पनि दिइरहेका छन्। कोभिड महामारीका बेला नर्सहरूले स्वास्थ्य सतर्कता, खोप सचेतना, हात धुने अभ्यास, मास्क प्रयोग जस्ता अभियान सफल बनाएका थिए। पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे भन्छन्, ‘यो कार्यक्रमले समुदायमै चेतना फैलाएको छ। बालबालिका, शिक्षक, अभिभावक सबै लाभान्वित छन्।’

समीक्षा र सुधारको खाँचो

यद्यपि विद्यालय नर्स कार्यक्रम सफल देखिए पनि समीक्षा र योजना निर्माणमा चुनौती देखिएको छ। कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले नर्स, विद्यालय, स्थानीय तहसँग समन्वय गरी समीक्षा गर्नुपर्नेमा अधिकांश ठाउँमा त्यो प्रक्रिया कमजोर देखिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार, आगामी दिनमा विद्यालय नर्स कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन, उत्कृष्ट अभ्यासको आदानप्रदान, रणनीतिक योजना निर्माणका लागि जिल्ला र प्रदेशस्तरीय समीक्षा आवश्यक छ।

अहिलेको संरचना र आर्थिक पक्ष

हाल यो कार्यक्रम प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको छ। चालु आर्थिक वर्षमा ८ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ। कार्यक्रम अझ प्रभावकारी बनाउने हो भने समन्वय, स्रोतसाधन, अनुगमन र स्थानीय तहसँगको साझेदारी आवश्यक देखिन्छ। शिक्षा र स्वास्थ्यलाई एकसाथ जोड्ने यस्तो कार्यक्रमले अब शिक्षालयलाई पूर्णरूपमा सिकाइ र जीवन सीपको केन्द्र बनाउन सक्ने देखिएको छ।

शिक्षा र स्वास्थ्यको सहयात्रा

विद्यालय नर्स कार्यक्रम अब सामाजिक रुपान्तरणको अभियानमा रूपान्तरण हुँदैछ। विद्यार्थीमा स्वास्थ्यप्रति चेतना, आत्मविश्वास र अभिव्यक्ति क्षमता बढेको छ। सरसफाइ र पोषण जस्ता आधारभूत विषय शिक्षासँगै जोडिँदा दीर्घकालीन रूपमा रोगको न्यूनीकरण र सामाजिक व्यवहारमा सुधार सम्भव देखिएको छ।

सरकारले अझ नीतिगत एकरूपता ल्याएर संघ, प्रदेश, पालिकाबीचको तालमेल मिलाउन सके कार्यक्रम अझ प्रभावकारी हुनेछ। विद्यालय नर्स अब केवल स्वास्थ्य सेवाकर्मी मात्र होइनन्—उनीहरू विद्यार्थीको अभिभावक, मनोपरामर्शदाता र परिवर्तनको संवाहक हुन्।

ताजा समाचार