निर्वाचनलाई लक्षित गर्दै झापामा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन

Share

झापा — जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा तिनमा प्रयोग हुने गोलीगठ्ठा सम्बन्धित धनीले नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ।
निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण र सुरक्षित निर्वाचन राष्ट्रको गौरव भएको उल्लेख गर्दै यस अभियानमा सम्पूर्ण जिल्लाबासी, नागरिक समाज तथा सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको छ।

ताजा समाचार