झापा/ईन्डियन आइडलको प्रतिस्पर्धामा १० औं स्थानबाट बाहिरिएकी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ ।
मेचीपुल हुँदै सोमबार झापा आइपुगेकी पौडेललाई सर्वसाधारणदेखि संघ संस्थाले भब्य स्वागत गरे । उनलाई सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए ।
झाँकी र र्यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो । धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरेका थिए ।
समारोहमा मेनुकालाई सबैलाई धन्यवाद दिएकी थिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले मेनुकालाई सम्मान प्रदान गरेका थिए । इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् ।
पौडेलले शो सञ्चालनकै क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शोले उनलाई निकै चर्चा दिलायो । उनले अबको एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुने समेत बताएकी छन् ।
मेनुकाले आफूलाई नेपाली संगीतले संघर्ष गर्नुपर्छ भनेर सिकाएको बताइन् । यहाँसम्म आइपुग्नु नसोचेको सफलता भएको उनको भनाइ छ । ‘मलाई एकदमै खुसी लागिरहेको, यो मैले नसोचेको सफलता हो’ उनले भनिन्, ‘इण्डियन आइडलमा गीत गाउँछु भनेर मात्र भगवानसँग प्रार्थना गरेकी थिएँ । यहाँसम्म आइपुग्नु यो त सोचेको भन्दा पनि ठूलो सफलता हो ।’
सलारको गीतपछि अरु फिल्मको पनि गीत गाउने प्रस्ताव आएको पौडेलले बताएकी छन् । बलिउडको प्लेब्याक गायनमा पनि हात हालेको जानकारी दिँदै उनले नेपाली संगीतले आफूलाई संघर्ष गर्न सिकाएको बताइन् ।
पौडेल विसं २०५५ सालमा झापाको हल्दीवारी–४ मा जन्मेकी हुन् । उनले नेपाल आइडलमासमेत प्रतिस्पर्धा गरेकी थिइन्।